• ३ साउन २०८१, बिहिबार

धुलिखेलको मत गणना कार्य रोकियो

blog

फाइल तस्विर

केदार तिमल्सिना 

बनेपा, जेठ ४ गते । स्थानीय तह निर्वाचन अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना गर्ने क्रममा निर्वाचन आयोगले जारी गरेको मतगणना निर्देशिका अनुसार नभएको भन्दै विरोध भएपछि धुलिखेलमा जारी मतगणना कार्य रोकिएको छ । 

स्थानीय तह निर्वाचन मतगणना (पहिलो संशोधन) निर्देशिका २०७९ अनुसार मत गणना कार्य नहुँदा मतगणना कार्य बीचैमा रोकिएको बताइएको छ । धुलिखेल नगरपालिका–९ को मत गणना सुरु हुनुअघि मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका निर्वाचन अधिकृत मोहनराज भट्टराईले मतपत्रको छैटौँ नम्बरमा रहेका खुल्ला सदस्यको मत सदर हुने विषयमा सर्वदलीय बैठक बोलाएपछि गणना कार्य रोकिएको हो । 

मंगलबार साँझदेखि रोकिएको मतगणना कार्य अझै सुचारु हुन सकेको छैन । स्थानीय तह निर्वाचन मतगणना (पहिलो संशोधन) निर्देशिका २०७९को परिच्छेद २६ (छ) मा उल्लेख भएअनुसार सुरुदेखि नै मतगणना नगरेका कारण समस्यमा आएको बताइएको छ । उक्त बुँदामा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केत चिन्ह पर्नेगरी मत सङ्केत गरिएमा उक्त मत बदर हुने उल्लेख छ । सो बुँदाअनुसार मतगणना नहुँदा मत गणनाका क्रममा समस्या आएको गणनामा सहभागीको भनाइ छ ।  

आयोगको बैशाख ३० गतेको थप निर्देशनमा मतपत्रको छैटौँ नम्बरमा रहेको खुला सदस्य पदमा उम्मेदवारी दिएको र उम्मेदवारी नदिएको पार्टीमा छाप लगाएको खण्डमा उम्मेदवारी दिएको पार्टीको मत सदर हुने व्यवस्था छ । तर धुलिखेलमा खुल्ला सदस्यमा मात्रै नभई सबै पदमा सोही अनुसार मत गणना गरिएपछि विवाद चुलिएको छ ।

धुलिखेलका सहायक मतदान अधिकृत शेषराज दाहालले आयोगको थप निर्देशनको बारेमा सर्वदलीय बैठकमा कुरा राखिएको भएपनि त्यस बारेमा कुनै दलका प्रतिनिधिले प्रश्न नगरेका कारण सोहीअनुरुप सबै पदमा मतगणना गरिएको बताउनुभयो । 

‘हामीले सबै पदमा यसरी नै मतगणना गरेका थियौँ, जुन निर्देशिका विपरित रहेछ, हिजो (मङ्गलबार) पाँचखालमा पनि सोहीअनुरुप मतगणना गर्न लागेपछि नियम विपरित भएको थाहा पाएपछि हामीले सर्वदलिय बैठक राख्न खोजेका हौँ, दलहरु आउनुभएको छैन’ सहायक मतदान अधिकृत दाहालले भन्नुभयो, ‘हामीले आयोगलाई पत्र लेखेर धुलिखेलको समस्या समाधानको  अनुरोध गरेका छौँ’ । 

गठबन्धनमा रहेका दलहरुले यसअघि सर्वदलीय बैठकअनुसार धुलिखेल वडा नम्बर–१ देखि ८ सम्म मतगणना गरेअनुरुप नै मत गणना हुनुपर्ने माग राखेका छन् । नेकपा (एमाले) धुलिखेल नगर कमिटिका अध्यक्ष दयाराम महतले निर्वाचन अधिकृतले आफुहरुलाई आयोगको थप निर्देशनको बारेमा छलफल गर्न बोलाए पनि निर्देशनको बारेमा कुनै जानकारी नदिइएको गुनासो गर्नुभयो । एमाले विधि र कानुनअनुसार चल्ने भन्दै कानुन अनुसार नै मतगणना हुनुपर्ने पक्षमा आफुहरु रहेको उहाँले बताउनुभयो । 

निर्देशिकामा सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको, मत सङ्केत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको, निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएको, एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केतको चिन्ह पर्नेगरी मत सङ्केत गरिएको अवस्थामा मत बदर हुने उल्लेख छ ।