• २५ वैशाख २०८१, मङ्गलबार

एक वर्षमै बाइस हजारले बढ्यो सुन

blog

काठमाडौँ, पुस २४ गते । पछिल्लो एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २२ हजार रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार गत वर्ष पुस महिनाको दोस्रो साता प्रतितोला एक लाख चार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर चालु आर्थिक वर्षको सो अवधिमा एक लाख २२ हजार रुपियाँसम्म पुगेको छ । अमेरिका र चीनको व्यापारिक गतिरोध, रुस–युक्रेनको युद्ध, इजरायल हमासको युद्ध, विश्व आर्थिक मन्दीलगायतका कारण सुनको मूल्य लगातार बढ्दै गएको हो । 

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले पछिल्लो एक वर्षमा अमेरिकी सेयर बजार घट्दै जाँदा लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि मूल्य लगातार बढ्दै गएको बताउनुभयो ।   

अमेरिकी फेडरल रिजर्भ बैङ्कले सन् २०२४ मा ब्याजदर घटाउने भनेकाले पनि आगामी दिनमा सुनको मूल्य थप बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य तोलामा एक लाख २५ हजार रुपियाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा एक साताअघि प्रतिऔँस सुनको मूल्य बढेर दुई हजार ८५ डलर पुगेर अहिले सामान्य घटेर दुई हजार ४६ डलरमा झरेको छ । 

विश्वमा देखिएको आर्थिक मन्दीका कारण लगानीकर्ताले सुनको लगानी बढाउँदै गएकाले पनि मूल्य क्रमिक रूपमा बढ्दै गएको बताएको छ । चालु आवको साउन महिनादेखि नै सुनको मूल्य निरन्तर बढ्दै गएको छ । 

साउनमा प्रतितोला एक लाख १० हजार चार सय रुपियाँमा कारोबार भएकोमा पुसको दोस्रो साता बढेर एक लाख २२ हजार रुपियाँ पुगेको छ । यस्तै भदौमा सुनको मूल्य बढेर एक लाख १३ हजार रुपियाँ पुगेको थियो । असोजमा एक लाख छ हजार नौ सय, कात्तिकमा एक लाख १७ हजार र मङ्सिरमा मूल्य बढेर एक लाख २० हजार आठ सय रुपियाँसम्म पुगेको तथ्याङ्क छ । 

पुस लागेसँगै बजारमा सुन कारोबारमा कमी आएको छ । लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु र उपभोक्ताको क्रयशक्ति नहुँदा बजारमा सुनको कारोबारमा गिरावट आएको व्यवसायी शाक्यले बताउनुभयो । मूल्य लगातार बढ्दै गएकाले घरव्यवहार चलाउनका लागि पुराना गहना बिक्री गर्नसमेत धेरै आउने गरेको उहाँले बताउनुभयो । 

बजारमा हाल सुनको कारोबार २५ प्रतिशत मात्र रहेको छ । विभिन्न वाणिज्य बैङ्कले दैनिक २० केजी सुन आयात गरिरहेका छन् तर बिक्री नहुँदा सुनको मौज्दात बढ्दै गएको व्यवसायी बताउँछन् । यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा नौ अर्ब ९७ करोड ११ लाख ६३ हजार रुपियाँ बराबरको एक हजार २०१ केजी सुन आयात भएको छ ।