प्रेम अधिकारी
पशुपतिनगर, कात्तिक १० गते । पर्यटकीय सिजनको सुरु भएसँगै इलामका पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरो पछि केही समय सुनसान भएका अन्तु र कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
बाढीपहिरोले क्षति गरेका सडकलगायतका संरचना मर्मत तथा पुनर्निर्माण गरिएसँगै पर्यटक आगमन बढेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । जेनजी आन्दोलन र बाढीपहिरोपछि भारतीय पर्यटकको चहलपहल घटेकामा अहिले भारतीय पर्यटक बढ्न थालेका छन् । अध्यक्ष घिमिरेले अन्तुमा भएका होटेल, होमस्टे र कटेजमा नअटेपछि गाउँका घरमा समेत पर्यटक राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लागेको छ ।
अहिले अन्तुमा मात्र स्वदेशी तथा विदेशी गरी दैनिक पाँच हजारभन्दा बढी पर्यटक भित्रिन थालेका छन् । कात्तिक र मङ्सिर अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने महिना हुन् । बिहानको झिसमिसेमै सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकले अन्तुडाँडा खचाखच बन्न थालेको छ । अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् ।
सूर्योदय नगरपालिकाकै अर्को पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको चाप बढेको होटेल व्यवसायी टेकराज गिरीले बताउनुभयो । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन, अनुसन्धानका लागि नेपाली तथा भारतीय पर्यटक आउने गरेका छन् ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले बाढीपहिरोपछि पनि कन्याम र अन्तुसहित सूर्योदयका पर्यटकीय स्थल पर्यटकका लागि सुरक्षित रहेको जानकारी दिनुभयो । नगरले बाढीपहिरोबाट क्षति भएका ८७ वटा सडक सञ्चालनमा ल्याइसकिएको छ । नगरप्रमुख राईले भन्नुभयो, “सूर्योदयसहित इलामका पर्यटकीय सुरक्षित छन् भन्ने सन्देश पर्यटक र पर्यटन व्यवसायी माझ पु¥याउन जरुरी छ, पर्यटन क्षेत्र चलायमान बनाउन सबै लाग्नु पर्छ ।” बाढीपहिरोपछि सरकारले तीन महिनाका लागि इलाम जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका कारण तेस्रो देशका पर्यटक भने न्यून सङ्ख्यामा मात्र आउने गरेका छन् । अन्तु र कन्याममा असोजको पहिलो सातादेखि जेठसम्म पर्यटकको अत्यधिक भिड लाग्ने गर्छ । यस्तै इलामका अन्य पर्यटकीय स्थल सन्दकपुर डाँडा, माईपोखरी, ढापपोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भन्डी डाँडासहितका क्षेत्रमा समेत पर्यटकको चहलपहल बढेको छ ।