नेत्र शाही
जुम्ला, पुस १४ गते । जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भई सुचारु भएको छ । लामो समयदेखि उक्त टेलिफोन टावर निर्माण भइरहेको थियो । सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सुचारु गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार फोरजी इन्टरनेट सेवा सहित सुचारु भएको जानकारी दिनु भयो ।
अध्यक्ष शाहीका अनुसार स्थानीय सरकारको समन्वय तथा नेपाल टेलिकमको लगानीमा हिमा गाउँपालिका-५, कस्तुरीभिडमा टावर सञ्चालन भएको हो ।
हिमा गाउँपालिका क्षेत्रमा अब टेलिफोनको समस्या नहुने नेपाल टेलिकम जुम्लाले जनाएको छ । कार्यालय प्रमुख पारस पुजाराले भर्खरै हिमामा टावर निर्माण सम्पन्न भएर आवश्यक प्रविधि जोडेर फर्किएको जानकारी दिनु भयो । उहाँका अनुसार बबरमहल काठमाडौँ वार्लेस सेवा निर्देशनालयका सहायक प्राविधिक राजेश गिरीसहित ५ जनाको प्राविधिक टोलीले आवश्यक साधन जोडेर टावर सुचारु गरिएको छ ।
टावर सुचारु भएपछि गाउँपालिका क्षेत्रमा भइरहेको टेलिफोन समस्या हट्ने भएको छ । नागरिकले खुसी व्यक्त गरेका छन् । प्राविधिक टोलीका अनुसार निर्माण समय लामो र विभिन्न निर्माण कम्पनीले लामो समय लगाएकाले अब भने निर्माण सकिएको जानकारी दिएको छ । प्राविधिक टोलीले भने टावरका लागि टेलिफोन र फोरजी सुरु भए पनि सोलारले बिहान बेलुकी काम नगरिरहेको समस्या छ । यो प्रतिवेदन सम्बन्धित निकायमा पेस गरेर पुन सोलार हाल्ने काम गरिने छ ।
प्राविधिक टोलीका अनुसार जुम्ला र कालिकोटको सीमामा रहेको नाग्म बजारमा समेत एक हजार आठ सय ब्यान्डको फोजी इन्टरनेट सेवा जोडेका छौँ । यसले गर्दा व्यस्त बजार नाग्म क्षेत्रमा सेवाग्राहीलाई सहज हुने भएको छ । हिमा-५ मा जडान गरिएको टावर नाग्म माथी रहेको मुख्य टावरसँग पनि जोडेर सेवा दिएको प्राविधिक टोलीले जानकारी दिएको छ ।