टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस १४ गते। गुल्मीको शान्तिपुरमा ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले गर्नु भयो । उहाँले तालिमलाई व्यावहारिक र उपलब्धिमूलक बनाउन सहभागीलाई आग्रह गर्नु भयो ।
लामो समयदेखि घरेलुसँग सहकार्य गरेर सीप र उद्यम विकासका लागि आवश्यक तालिमहरु सञ्चालन भइरहेकाले जिल्लाकै एकमात्र मण्टेश्वरी तालिमको लाभका लागि सक्रियता देखाउनु पर्नेमा केसीले जोड दिनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । चन्द्रकोट बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने २० जना विद्यार्थी तालिममा सहभागी छन् । बाल्यकालमै बालबालिकाको सिकाइ उपलब्धि उन्नत बनाउन तालिमले सहजीकरण गर्ने अपेक्षा आफुहरूको रहेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले बताउनुभयो।
तालिम उपलब्धिपूर्ण बनाउन सहभागीको चासो र सक्रियतामा प्रशिक्षकको मिहिनेत चाहिने भएकाले दुबै पक्षको आवश्यक सहजीकरण र अनुगमन कार्यालयले गर्ने बताउनु भयो । तालिम प्रशिक्षक साधना भण्डारीले तालिम लामो र सीपमूलक हुने भएकाले आफ्नै गाउँको माटोमा उपयोग गर्न आग्रह गर्नु भयो । जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी शृजना मिश्रले हजारौं रुपियाँ खर्च गरेर लिनुपर्ने तालिम घरेलुले घर आँगनमै निःशुल्क रूपमा लिएर आउनु ठुलो अवसर भएकाले सुन्दर भविष्य र रोजगारीका लागि उत्साहित भएर तालिम लिन प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल लालमणी भण्डारीको कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका मिलन भण्डारीको सहजीकरणमा सम्पन्न भएको थियो ।