• १३ पुस २०८२, आइतबार

उम्मेदवारको नाम सिफारिस गर्दै दल

blog

प्रत्यक्षतर्फ काँग्रेसबाट सिफारिस हुनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ र नेकपाका खेलप्रसाद बुडाक्षेत्री (पराग)।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १३ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङबाट राजनीतिक दलहरुले उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन्। दलहरुले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्।

ताप्लेजुङबाट नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी लगायतका दलले आफ्ना उम्मेदवारहरुको नाम पार्टीको केन्द्रसमक्ष सिफारिस गर्न थालेका हुन्। हालसम्म नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गरी सकेको छ। एमालेले भने समानुपातिक तर्फका उम्मेदवारको मात्र नाम सिफारिस गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीले गएको शुक्रबार जिल्ला कमिटीको बैठक बसी प्रत्यक्षतर्फ खेलप्रसाद बुडाक्षेत्री (पराग) को एकल नाम सिफारिस गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्ष उम्मेदवारका लागि बुडाक्षेत्रीको एकल नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको नेकपाका नेता विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो। बुडाक्षेत्री तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज रहनुभएको थियो। 

बुडाक्षेत्री २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस माओवादी सम्मिलित वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो। त्यसबेला एमालेका उम्मेदवार योगेशकुमार भट्टराईसँग बुडाक्षेत्री २०८ मतले पराजित हुनुभएको थियो। यस्तै नेकपाले समानुपातिकतर्फ रामचन्द्र पोमु, दावाछिरिङ शेर्पा (विशालु), असिम लिम्बू र कल्पना लिम्बूको नाम सिफारिस गर्ने भएको छ। राष्ट्रिय सभातर्फ भने पर्शुराम कार्की र नेत्र नेपालीको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

नेपाली काँग्रेसले केही दिन अघि नै प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ प्रतापप्रकाश हाङ्गाम, केशवप्रसाद दाहाल र कल्पनादेवी सिटौलाको नाम काँग्रेसले सिफारिस गरेको छ। राष्ट्रिय सभातर्फ भने पूर्वमन्त्री मणि लामा, लीलादेवी बोखिमसहित १० जनाको नाम सिफारिस गरेको छ।

एमालेले ताप्लेजुङबाट समानुपातिकतर्फ अनन्तबहादुर साँवा, लक्ष्मीबहादुर यक्सो र चन्द्रकला खतिवडाको नाम सिफारिस गरेको छ। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि समानुपातिकतर्फ जिल्लाबाट देउबहादुर खुदाङ र अमृता गुरुङको नाम सिफारिस गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य दलले पनि उम्मेदवार छनोटको क्रम चलिरहेको जनाएका छन्।