शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १४ गते ।नेपाल चिकित्सक सङ्घले माइतीघरमा अनशनरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
सङ्घका महासचिव डा.सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै विगत सातदिनदेखि आमरण अनशनमा बस्नुभएका डा.भुसालको जीवन रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गर्नुभएको हो ।
“हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा.भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सङ्घ सरकारसँग माग गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।
डा.तिवारीका अनुसार अनशनरत डा.भुसाललाई रिङ्गटा लाग्ने, शरीर सुन्निने लगायत विभिन्न स्वास्थ्य समस्या देखापरेका छन् ।
उहाँ अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उहाँको स्वास्थ्यमा थप जटिलताहरू देखा पर्दै गएको भन्दै सङ्घले यस्तो आग्रह गरेको हो ।