• १० कात्तिक २०८२, सोमबार

१० हजार मिटर दौडमा सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित काँस्य

blog

पदकसहित नेपालका खेलाडी ।

काठमाडौँ, कात्तिक १० गते । नेपालकी चर्चित धाविका सन्तोषी श्रेष्ठले भारतमा जारी साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानसहित काँस्य पदक जित्नुभएको छ । 

राँचीमा भएको च्याम्पियनसिपमा सन्तोषीले महिला १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित काँस्य जित्नुभएको हो । 

उहाँल यसअघि कान्छीमाया कोजुको नाममा रहेको १९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नुभयो । कान्छीमायाले सन् २००६ मा भएको साउथ एसियन गेम्समा ३५ मिनेट ०३.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । 

सन्तोषीले यसै च्याम्पियनसिपमा महिला पाँच हजार मिटर दौडमा पनि कान्छीमायाकै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै काँस्य पदक जित्नुभएको छ । उहाँले १६ मिनेट ४९ सेकेन्डको कीर्तिमान तोड्दै १६ मिनेट ३६.६१ सेकेन्डको नयाँ कीर्तिमान बनाउनुभएको हो । 

च्याम्पियनसिपमा नेपालका सोमबहादुर कुमालले पुरुष आठ सय मिटर र राजन रोकायले पुरुष १० हजार मिटरमा रजत पदक जित्नुभएको छ । यस्तै मुकेश पालले पुरुष पाँच हजार मिटर र चार गुना चार सय मिक्स रिलेमा काँस्य पदक जित्नुभयो ।