• १३ पुस २०८२, आइतबार

स्वास्थ्य शिविरबाट गाउँमै विशेषज्ञ सेवा

blog

धुर्कोट गाउँपालिका–४, जैसिथोकको स्वास्थ्य शिविर । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस १३ गते। गुल्मीको धुर्कोट गाउँपालिका वडा–४, जैसिथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जनाले सेवा पाएका छन्  । जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 

शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसूति लगायतका रोगको उपचार गरिएको थियो । शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभाम्बित भएका छन् ।

त्यसैगरी गाउँमै विशेषज्ञ डाक्टरसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको समेत बचत भएको जैसिथोक सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राजन पोखरेलले बताउनु भयो । उहाँले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनु भयो । जैसिथोक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष केशव पोखरेलले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताउनु भयो । शिविरबाट दमको पहिचान भएका एक जनालाई थप उपचारका लागि बुटबल रिफर गरिएको छ ।

शिविरमा जनरल सर्जन डाक्टर कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर सागर पौडेल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर बिन्दु पोखरेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर उत्सव रेग्मी र बालरोग विशेषज्ञ डाक्टर प्रदिप शर्मा लगायतको टिमले सेवा दिएको शिविरका सहजकर्ता भरतजङ्ग क्षेत्रीले जानकारी दिनु भयो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले स्वास्थ्य पुर्वाधार, जनशक्ति व्यवस्थापन, औषधी उपकरण र शिविरमा गाउँपालिकाले काम गरेको बताउनु भयो । शिविरबाट स्थानीय समेत खुसी छन् । 

सुगर र थाइराइड समस्या भएका जैसिथोकका चुरामणि घिमिरेले आफुले औषधी र श्रीमतीलाई शिविरबाट उपचार गरेर फर्किनु भयो । बुटबलका डाक्टर गाउँमै आएर सेवा दिँदा खुसी लागेको घिमिरेले बताउनु भयो । अर्को बिरामी स्थानीय तुलसा पोखरेलले गाउँमा शिविर आएकाले बुटबल जानुपर्ने बाध्यता हटेको बताउनु भयो ।