थारूले मौसम, समय, चाडपर्व, विवाह, पूजापाठलगायत विभिन्न अवस्थामा खाने अनेक परिकार छन् । दैनिक खानेमा भात, दाल, कपुवा, तरकारी आदि हुन् भने चाडपर्वमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, बरिया रहेका छन् । त्यस्तै माछा, गँगटा, घोँगीको परिकार पनि थारूले ज्यादै मिठो मानेर खाने गर्छन् ।
थारूले खाने परिकारमा धेरै मसला प्रयोग गरिँदैन । सामान्य रूपमा र सजिलै घरमै उपलब्ध हुने लसुन, प्याज, धनियाँ, खुर्सानी आदि प्रयोग गरिन्छ । यसै गरी धेरै दिन राखेर बनाएको अचारभन्दा ताजा चटनी खाने गर्छन् । थारूले सादा खालको खानेकुरा नै बढी खान्छन् ।
थारूले चाडपर्व तथा अन्य दिनमा खाने परिकार यस प्रकार रहेका छन् :
ढिक्री
थारू समुदायमा निकै प्रचलित परिकारमध्येको एक हो ढिक्री । प्रायः सबै पर्व र अवसरमा तयार पारिने भए पनि माघी, दसैँ र तिहारमा भने यो अनिवार्य बनाइन्छ । साथै भोज वा खुसियालीका अवसरमा समेत यो परिकार पकाइन्छ । चामलको मसिनो पिठोलाई पानीमा मुछेर बाफमा पकाइने भएकाले यो छिट्टै पच्ने र स्वास्थ्यवद्र्धक परिकार मानिन्छ । तोरीको साग, सुँगुरको मासु र सिध्रा माछासँग ढिक्री अति नै मिठो हुन्छ ।
खरिया/बरिया
खासगरी माघी, अटवारी, कृष्णजन्माष्टमीमा बनाएर खाइने यी परिकार थारू समुदायमा प्रचलित छन् । यसखाले परिकार खासगरी दाङ देउखुरीका थारूले बनाउने गर्छन् । भिजाएर राखेको मासको दालमा लसुन, अदुवा र खुर्सानीको पेस्ट राखी मुछ्ने र कर्कलाको पात अथवा यत्तिकै रोल बनाएर बाफमा उसिनीसकेपछि सेलाएर गोलोगोलो आकारमा काटी तेलमा तार्नु पर्दछ ।
तारेको टुक्रालाई अचारमा चोपेर वा यत्तिकै खाँदा निकै स्वादिलो हुन्छ । खरिया मासको दालबाट बनाइन्छ भने बरिया चामलको पिठो अथवा अनदीको पिठोबाट बनाइन्छ । यसको प्रमुख विशेषता भनेको रोटी हातले बनाई तेलमा तारेर बनाइनु हो । यसरी तेलमा पकाइएको चिल्लो मोटो रोटीलाई बरिया भनिन्छ । यस खालको रोटी अटवारी, माघी, फागु आदि चाडमा र विवाहमा पनि बनाइनुका साथै खान मन लागेका बेला जहिले पनि बनाउन सकिन्छ ।
घोँगी/माछा
थारू समुदायमा घोँगीको परिकार निकै प्रचलित छ । यो नेपालभरिका थारूले खाने स्वादिष्ट र पौष्टिक तत्वले भरिपूर्ण गुणकारी परिकारमा पर्छ । थारूले तराईको हैजा, बिफर जस्ता महामारीसँग लड्न सक्ने क्षमता पनि यस खानाबाट पाएको देखिन्छ । थोरै चामलको पिठो हालेर पकाउँदा घाेँगी स्वादिष्ट हुन्छ । अचेल घोँगीको परिकार थारूको मात्र होइन गैरथारूको पनि मनपर्ने परिकार बनेको छ । कतिपय रेस्टुरेन्टमा घोँगीको परिकारसमेत पाइन थालेको छ ।
त्यसै गरी थारू माछा खानमा ज्यादै सोखिन हुन्छन् । त्यसैले थारू बाह्रैमास घरको कामधन्दा सकेर हेल्का र डिल्या बोकेर नदी खोलामा माछा मार्न जान्छन् । दसैँमा पिट्टर दिनलाई अनिवार्य रूपमा सुकेको माछा आवश्यक पर्दछ ।
मुसाको चटनी
थारू समुदायमा मुसाको चटनी अथवा मासु स्वाद मानेर खाइन्छ । पश्चिम तराईका थारूले प्रायः मुसा खाने गर्छन् । सबैले मुसाको मासु खान्छन् भन्ने छैन, कसैले खाँदैनन् पनि । धान र गहुँ काट्ने बेलामा अन्न खाएर खेतमा भएको मुसा मारेर पकाई खाइन्छ । मुसाको चटनी वा मासु मेला महोत्सवमा पनि राख्ने गरिएको छ ।
कपुवा
थारू जातिको प्रचलित परिकारमध्ये कपुवा पनि एक हो । सामान्य दिनमा थारूको घरमा प्रायः दालको विकल्पका रूपमा कपुवा बनाई खाने गरिन्छ । चामलको पिठोबाट बनाइने तिहुनलाई कपुवा भनिन्छ । यसमा अमिलो पदार्थ जस्तै आमिललर्चा जिल्बुललर्चा राखेर बनाउन पनि सकिन्छ । यसले खाना रुचाउने काम गर्दछ । साथै पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्दछ ।
ठेसौरा
छोरा जन्मेको पाँचौँ वा सातौँ दिनमा घटवाकर्म सकेको दिन ठेसौरा पूजा गर्ने चलन रहेको छ थारू समुदायमा । चामलको पिठोलाई खैरो हुने गरी भुटेर गुलियो पदार्थ मिसाई अलि अलि पानी राख्दै डल्लो बनाई देउताको पूजा गरी खुसियालीका रूपमा वा प्रसादका रूपमा छरछिमेकीलाई ठेसौरा बाँड्ने चलन रहेको छ । ठेसौरा पूजा गर्दा बच्चाको दुष्टात्मा कमजोर हुने र बच्चा बिरामी नहुने भन्ने मान्यता रहेको पाइन्छ थारू समुदायमा ।
जाँड/दारु (रक्सी)
थारू समुदायमा सबैभन्दा जाँड र रक्सी प्रचलित रहेको छ । गाउँघरमा थारूले प्रायः हरेक दिन जाँड पिउने गर्दछन् । चाडपर्वमा विशेष तरिका र सामग्री प्रयोग गरेर तथा अघिपछि सामान्य खालले विविध खालको जाँड रक्सी बनाउने गरिन्छ । जस्तै अनदीको जाँड, विभिन्न स्वादमा रक्सी, झोल जाँड आदि ।
चामलबाट बनाइने छब्बा जाँडमा अलिकति पानी हालेर वा पानीमा राम्ररी घोलेर पिउन सकिन्छ । जाँडले अलि अलि नसा दिए पनि पेट भर्नुका साथै शीतलता प्रदान गर्दछ । जाँड घरायसी भएकाले त्यति हानिकारक मानिँदैन । थारू समाजमा रक्सीको ठूलो महत्व रहेको छ । हरेक चाडपर्वमा थारूले आफ्नो कुल देउताको पूजा गर्दा घरमा बनाएको रक्सी अनिवार्य रूपमा चढाउनु पर्दछ ।
मार (माड)
थारू जातिको भान्सामा पाक्ने एक अर्को परिकार मार पनि हो । यो गर्मी महिनामा बनाइन्छ । चामल र भटमासको गेडा मिसाई धेरै बेरसम्म पकाई मार तयार पारिन्छ । चिसो भएपछि आवश्यक मात्रामा पानी मिसाई माटोको भाँडोमा राखी अर्को दिन घाममा काम गरेर आइसकेपछि नुन खुर्सानी र प्याजसँग मार खाने चलन रहेको छ ।
फागुनदेखि भदौ महिनासम्म मार ज्यादै खाने गरिन्छ । गर्मी मौसममा यसले शीतलता प्रदान गर्नुका साथै लु लाग्नबाट बचाउँछ ।
भौँरी
उब्रेको भात र गहुँको पिठो मुछेर हातले चेप्टो बनाई तावा वा अँगेनामा पकाएको खानेकुरा भौँरी हो । सोझै आगोमा पकाइएकाले खाँदा ज्यादै मिठो हुन्छ । केटाकेटीलाई दिउँसोको खाजा बनाउँदा भौँरी बनाउने चलन थारू समाजमा रहेको छ ।
थारूले खाने परिकारमा मसला कम हुने भएकाले खाना सुपाच्य हुन्छ । थारूको परिकार यति मात्र नभएर अरू पनि छन् जस्तै मेठौरी, झझरा, बरिया, गँगटाको मासु, सिन्की, फुलौरी भढ्ढीक्वार, पनडुभुक, आमिललर्चा, जिल्बुललर्चा (एक प्रकारको साग) आदि ।
–युवामञ्च