• १० कात्तिक २०८२, सोमबार

‘नेपालमा लगानीको पर्याप्त अवसर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १० गते । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित व्यापार तथा लगानी सम्मेलनमा सहभागी नेपाली मूलका उद्यमी व्यवसायीले लगानीमैत्री वातावरण र सहजीकरणका लागि सरकारसँग आग्रह गरेका छन् ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जताततै लगानी र विकासका लागि पर्याप्त सम्भावना रहेको औँल्याउनुभयो । उहाँले नेपालमा लगानी र सम्भावनाका क्षेत्र अझै पहिचान हुनै बाँकी रहेको तथा पहिचान भएकै सम्भावनालाई सदुपयोग गर्ने पर्याप्त अवसर रहेको पनि बताउनुभयो । नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन भन्ने जस्ता भाष्य चिर्न आवश्यक रहेको पनि उहाँको भनाइ थियो । “नेपालमा सम्भावना छैन, नेपालको पुँजीले पुग्दैन, व्यवसायको वातावरण नै छैन भन्ने जस्ता भाष्य बनाएको मात्र सुन्छु,” उहाँले भन्नुभयो, “यो गलत हो । मैले नेपालमा जस्तो अवसर र सम्भावना अन्त कतै देख्दिनँ ।”

उहाँले डायस्पोरा समुदायलाई नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताउनुभयो । पछिल्लो समय जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण उद्योगी व्यवसायीको मनोबल खस्केको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योग व्यवसायमा भौतिक क्षति पु¥याउने र लुटपाट गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आफूहरूको स्पष्ट माग रहेका बताउनुभयो । नेपालको पर्यटन र ऊर्जा लगानीका लागि उपयुक्त क्षेत्र हुने बताउँदै लगानीका लागि डायस्पोरा समुदायलाई आह्वान गर्नुभयो । 

सम्मेलनमा विशिष्ट अतिथि गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले लगानीमैत्री वातावरणका लागि सञ्चार माध्यमको रचनात्मक पहल आवश्यक रहेको बताउनुभयो । नेपालमा केही पनि हुँदैन, केही पनि छैन भन्ने भाष्य गलत रहेको बताउँदै महाप्रबन्धक ऐरीले सकारात्मक सोचका साथ नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका महासचिव गौरीराज जोशीले नेपालमा निर्धक्क लगानी गर्ने वातावरणका लागि सरकारी संवेदनशीलता आवश्यक रहेको बताउनुभयो ।