• १० कात्तिक २०८२, सोमबार

रसुवामा फर्जी पास वितरणविरुद्ध विरोध

blog

गङ्गाकुमारी मिजार 

रसुवा, कात्तिक १० गते । रसुवागढी नाकामा फर्जी रुपमा चीन प्रवेश पास वितरण भइरहेको भन्दै रसुवामा युवाहरुले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय, गोसाइकुण्ड गाउँपालिका –२ टिमुरे वडा कार्यालयका वडा अध्यक्ष तथा अध्यागमन कार्यालयमा ध्यानाकर्षण गराउँदै औपचारिक ज्ञापनपत्र बुझाएका छन् ।

युवाहरुले ज्ञापनपत्रमा रसुवाबासीका लागि मात्र वितरण गरिनुपर्ने प्रवेश पास बाहिरी जिल्लाका व्यक्तिहरुलाई आर्थिक लाभका लागि फर्जी रुपमा वितरण गरिएको उल्लेख गरेका छन् । युवाहरुका अनुसार यस्तो कार्यले कानुनी मापदण्ड मात्र उल्लङ्घन गरेको छैन, सीमाको सुरक्षा, स्थानीय विश्वास र राष्ट्रिय छविमाथि समेत प्रतिकूल असर पारेको छ ।

त्यस्तै युवाहरुले फर्जी पास निर्माण र वितरणमा संलग्न व्यक्तिहरुको छानबिन गरी कडाइका साथ कानूनी कारबाही गर्न माग गरेका छन् । विगतमा वितरण गरिएका सबै पुराना पास खारेज गरी प्रविधिमैत्री ई पास प्रणाली तत्काल लागू गर्न र रसुवाबासीका लागि मात्र प्रवेश पास जारी गर्न जोड माग गरेका छन् । युवा विशाल तामाङका अनुसार यो आन्दोलन कुनै राजनीतिक उद्देश्यउका लागि होइन, स्थानीयको हक, अधिकार र पारदर्शी प्रशासनिक प्रणालीको संरक्षणका लागि रहेको छ ।

साथै, युवाहरुले थप रुपमा रसुवागढी नाकातर्फ जाने सडक वर्षा र पहिरोका कारण बारम्बार अवरुद्ध हुने भएकाले तत्काल मर्मत, व्यवस्थापन र स्तराेन्नतिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।