काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पदभार ग्रहण गर्नुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पदभार ग्रहण गर्दै मन्त्री गौतमले जेनजी आन्दोलनबाट घाइतेभएका सबैलाई १६ वटा सङ्घीय र प्रदेश अस्पतालमा मनोपरामर्श केन्द्र स्थापन गर्ने निर्णय गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘मैले मानसिक स्वास्थ्यलाई प्रारथमिकतामा राखेको छु । त्यो बाहेक सहिद परिवारलाई निःशुल्क बिमा गर्ने योजना बनाएको छु । अर्थ मन्त्रालयसँग परामर्श गरेर काम अगाडि बढाउने छु ।’
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहनुभएकी गौतम जनस्वास्थ्यविद् समेत हुनुहुन्छ । उहाँले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

गौतम नेपालको स्वास्थ्य क्षेत्रमा तल्लो तहबाट २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गर्नु भएको थियो। उहाँ पूर्व सचिव हुनुहुन्छ ।
राजनीतिक नेतृत्वसँग लामो समय द्वन्द्व चलेपछि उहाँले सचिव पदबाट कार्यकाल पूरा नगरी राजीनामा दिनुभएको थियो ।
उहाँ चिकित्सकहरूको साझा सङ्गठन नेपाल चिकित्सक सङ्घको अध्यक्ष हुने एक मात्रै महिला हुनुहुन्छ । उहाँ २०६२/६३ सालमा चिकित्सक सङ्घको अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरिसक्नु भएको छ । उहाँले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हानुभएको छ।