• ३ फागुन २०८२, आइतबार

‘बाल क्यान्सर सुरुवाती चरणमा पत्ता लगाए निको हुन्छ’

blog

काठमाडौँ, फागुन ३ गते ।बालबालिकामा लाग्ने क्यान्सर सुरुवाती चरणमा पत्ता लगाएमा अधिकांश क्यान्सर निको बनाउन सकिने चिकित्सक बताउँछन् । 

बाल क्यान्सररोग विशेषज्ञ डा.सूचारिता तुलाधरले बालबालिकामा लाग्ने क्यान्सर सुरुवाती चरणमा पत्ता लगाएर उचित उपचार गरेमा निको बनाउन सकिने बताउनुुहुन्छ । उहाँका अनुसार समयमा नै रोग पत्ता लगाएर उचित उपचार गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको बनाउन सकिन्छ । 

उहाँ भन्नुहुन्छ, “बालबालिकामा देखिने क्यान्सरलाई नियन्त्रण गर्न सकिँदैन, तर सुरुवाती चरणमा रोग पहिचान गरेर उचित उपचार गरेमा अधिकांश क्यान्सरलाई निको बनाउन सकिन्छ ।”

उहाँका अनुसार बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय लक्षण देखिनेबितिकै यसको पहिचान गरि तुरुन्तै उपचार गर्ने हो।आर्थिक अभाव, लामो समयसम्म उपचार गर्नुपर्ने कारण र रोगको बारेमा चेतनाको कमीले गर्दा बालबालिका उपचारको दायरमा नआउने डा.तुलाधरको बुझाइ छ । 

सरकारले बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालमा सहुलियतसहित कम खर्चमा गर्ने व्यवस्था गरेको छ । उपचारपछि धेरै बालबालिका समान्य जीवनमा फर्किएका थुप्रै उदाहरण रहेको डा. तुलाधरको भनाइ छ । क्यान्सर निको भएका बालबालिकाको वौद्धिकतामा कुनै असर नपर्ने डा.तुलाधर बताउनुहुन्छ । 

चिकित्सकका अनुसार बालबालिकाम रक्त क्यान्सर(ल्युकोमिया),मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स ट्युमर जस्ता क्यान्सर बढी मात्रमा देखिने गर्छन् । 

लामो समयसम्म ज्वरो आउने, शरीरमा निलो डाम देखिने, हातखुट्टा, कमजोर हुने, ढाड दुख्ने, ग्रन्थी सुनिने, आँखाको नानी सेतो देखिने, तारन्तार बान्ता गर्ने, रगत कम हुँदै जाने, शरीर सेतो पहेलो देखिने, गिजा सुनिने, पेट फुल्ने, आँखामा सेतो दाग देखिने, टाउको दुख्ने, तौल कम हुँदै जाने, शरीरमा नदुख्ने गाँठागुँठी आउने, आलस हुने, शरीरका विभिन्न भागबाट रगत बग्ने, छाला, जिब्रो आँखामा टिकटिक दाग देखिने, बालबालिकामा देखिने क्यान्सरका प्रमुख लक्षण हुन् ।

 नेपालमा बालबालिकामा हुने क्यान्सर रोग प्रमुख जनस्वास्थ्यको समस्याका रुपमा देखिएको छ । नेपालमा एकिन तथ्याङ्क नभए पनि इन्टरनेसनल एजेन्सी फर रिसर्च इन क्यान्सर का अनुसार नेपालमा एक हजार पाँच सयम बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ । 

क्यान्सरको उपचार गर्ने संस्थाको तथ्याङ्क हेर्ने हो भने १५ सय मध्ये वार्षिक आठदेखि नौ सयको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने देखिएको छ । 

अनुमान गरिएका मध्ये लगभग पाँच सयभन्दा बढी क्यान्सर भएका बालबालिका उपचारको दायरा बाहिर छन् । क्यान्सर लाग्यो भने उपचार हुँदैन भनेर घरमा नै बस्नु गलत भएको बताउनुहुन्छ । क्यान्सरका लक्षण देखिनासाथ बालबालिकालाई नजिकको क्यान्सर रोगको उपचार हुने स्वास्थ्य संस्थामा लैजान उहाँको आग्रह छ ।    

उहाँ भन्नुहुन्छ, “आर्थिक अभावका कारणले बालबालिका क्यान्सर रोगले ज्यान गुमाउनु नपर्ने हुँदा लक्षण देखिनसाथ तुरुन्त स्वास्थ्य संस्थामा बालबालिकालाई लैजानु पर्छ । उपचारपछि निको हुन्छ । ”