• ११ फागुन २०८२, सोमबार

धादिङ बस दुर्घटना

‘समयमा उद्धार भएको भए धेरैको ज्यान बच्थ्यो’

blog

दुर्घटनामा घाइते भएकी काठमाडौं बौद्धका ४७ वर्षीया याङ्जी शेर्पा ट्रमा सेन्टरमा उपचार गराउनुहुँदै।

काठमाडौँ, फागुन ११ गते । समयमा नै उद्धार भएको भए धेरैले अकालमा नै ज्यान गुमाउन नपर्ने धादिङ बस दुर्घटनाका घाइतेहरुले धारणा राख्नुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत रहनुभएका काठमाडौँ बौद्धकी ४७ वर्षीया याङ्जी शेर्पाले सरकारले समयमा नै उद्धार गरिदिएको भए धेरैको जीवन बचाउन सकिने अवस्था हुन्थ्यो भन्नुभयो । 

दुर्घटनामा श्रीमान गुमाउनु भएकी उहाँले दुर्घटना हुनासाथ उद्धार पाएको भए श्रीमान बचाउन सकिने अवस्थामा रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यदि नेताहरूको कोही आफ्न्त बिरामी भएको भएर तुरुन्त हेलिकप्टरबाट उद्धार गरेर महङ्गा स्वास्थ्य संस्थामा उपचार गर्थे । त्यत्रो दुर्घटना हुँदा पनि समयमा उद्धार नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु पर्‍यो । मेरो श्रीमानको एक घण्टासम्म पनि धड्कन चलेको थियो । समयमा नै उद्धार भएको भए आज उहाँ मसँग हुनुहुन्थ्यो ।” 

उहाँ श्रीमानसँग ल्होसार मनाएर आइतबार पोखरबाट काठमाडौँ फिर्कदै हुनुहुन्थ्यो । पोखराबाट आइतबार साँझ ७ बजे छुटेको गाडी खाना खाएको आधा घण्टा नहुँदै दुर्घटनामा परेको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, “भात खाएर सुतेको बेलामा गाडी दुर्घटना हुँदा धेरै जनाको ज्यान गयो ।”

 गाडी तीव्र गतिमा भएको र चालकको लापरवाहीको कारणले दुर्घटना भएको उहाँको गुनासो छ। 

गाडीमा क्षमताभन्दा बढी यात्रु हाल्ने ओराल्ने गरेको उहाँले सुनाउनुभयो । “प्रहरीले पनि गाडीको चेकजाँच गर्नुपर्छ, जाँचै नगरी आम मानिसको जीवनसँग खेलवाड भएको छ । यसको सुनुवाइ हुनुपर्छ । आम मानिसको जीवनसँग खेलवाड गर्नु हुँदैन” उहाँले भन्नुभयो, “यो घटनालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ ।” 

त्यस्तै ट्रमा सेन्टरको इमर्जेन्सी वार्डमा उपचाररत अर्का घाइते सोमकुमार शर्माले निदाएको बेलामा घटना घटेकोले घटनाको बारेमा पछिमात्र थाहा पाएको सुनाउनुभयो । उहाँ छोरालाई विदेश पठाउन कागजात मिलाउन काठमाडौँ आउदैँ हुनुहुन्थ्यो । दुर्घटनामा परेर उहाँको टाउकोमा गम्भीर चोट लागेको छ भने छोरो पनि घाइते भएर कंलकीस्थित नेशनल अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँले समयमा नै उद्धार हुन नसकेको बताउनुभयो । 

त्यस्तै, ट्रमा सेन्टरमा नै उपचाररत घाइते सलिना परियारले आफू अन्तिम सिटमा बसेकाले बाच्न सफल भएको बताउनुभयो। राति साढे १ बजे दुर्घटना भएकाले गाडी खस्दा सास फेर्न गाह्रो भएको उहाँको भनाइ छ ।  

उहाँको अनुसार होसमा आउँदा उहाँ सिटको मुनि हुनुहुथ्यो । उहाँको कम्मरमा भित्री चोट लागेको चिकित्सकको भनाइ छ । सिटमा फसेका घाइतेलाई निकालेर खोला पारी लगेपछि दुई तीन घण्टा बालुवामा सुताएको उहाँले बताउनुभयो । त्यसपछि मात्र उद्धार टोली आएको उहाँको भनाइ छ । “म होसमा आउँदा सबै अचेत थिए,  सबैको अनुहारमा रगतैरगत थियो । अगाडि र बिचको सिटमा बसेको भए सायद बाच्दैँन थिएँ हुँला । धेरै घाइतेको समयमा उपचार नहुँदा मृत्यु भयो । समयमा नै उद्धार भएको भए उहाँहरुले ज्यान गुमाउन पर्ने थिएन” उहाँले भन्नुभयो । 

फागुन ११ विहान राति करिब १ः३० बजे पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ भैंसीगौंडास्थित पृथ्वी लोकमार्गमा अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनाका १६ जना घाइतेहरुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । हाल १५ जनाको उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। १० जना घाइतेको नेशनल अस्पताल कलंकीमा र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको उपचार भइरहेको छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।