काठमाडौँ, असोज २ गते । जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारसहित धेरै सरकारी कार्यालयमा आगजनी र तोडफोड भयो । सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालयलगायतमा आगजनीबाट सबैभन्दा बढी क्षति पुग्यो ।
बानेश्वरमा रहेको सङ्घीय संसद्सहित बबरमहलको सडक विभागमा आगजनीबाट ठुलो क्षति भयो तर नजिकै रहेको हालै निर्माणसम्पन्न भई सञ्चालनमा आएको नेपाल आयल निगमको केन्द्रीय कार्यालय भवन भने सुरक्षा गार्डको अथक् प्रयासले जोगिएको छ ।
कार्यालयको गेटमा खटिएका तीन जना सुरक्षा गार्डले आगजनी र तोडफोड गर्न आएको आन्दोलनकारीको ठुलो समूहलाई सम्झाइबुझाइ अनुनय विनय गरेपछि भवन आगजनी हुनबाट जोगिएको निगमले जनाएको छ । सडक विभागमा आगो लगाएपछि नजिक रहेको निगमको कार्यलयमा २०/२५ जनाको समूह आगो लगाउन आएर बाहिरबाटै ढुङ्गा हानेर सिसा फुटाउन थाल्यो ।
निगमको गेटमा विक्रम पाण्डेसँगै अन्य तीन जना सुरक्षा गार्ड बसेका थिए । प्रदर्शनकारी ढुङ्गा हानेर भित्र पस्न थाले । निगमका सुरक्षा प्रमुख विक्रम पाण्डेले प्रदर्शनकारीलाई “यो तपाईं हाम्रै करबाट बनाएको सरकारी सम्पत्ति जलाएर के हुन्छ ?” भनेर अनुरोध गरेँ । यसोभन्दा “तँलाई पनि जलाइदिन्छु धेरै नबोल् भनेर प्रदर्शनकारी खनिए ,” उहाँले भन्नुभयो, “आन्दोलनकारीको हुलमध्येबाट दुई जना महिलाले मेरो शिरबाट टोपी खोसे । फेरि लगाएको लुगा खोल्न भने, मैले उनीहरूले भने अनुसार नै लुगा खोलेँ । मैले खोलेको लुगा उनीहरूले नै लगे ।” नाङ्गो बनाएपछि हातपात गर्न खोजेकोमा आफूले हातपात नगर्न हात जोडेर अनुनय गरेको स्मरण पाण्डेले गर्नुभयो ।
यस्तैमा भित्र बसेर प्रदर्शनकारीले हाकिमको नम्बर मागे । “म त सुरक्षा गर्न बसेको मान्छे हुँ हजुर मसँग हाकिमसाबको नम्बर छैन, तोडफोड नगर्नुहोस् तपाईंहरू पढेलेखेको मान्छे पछि यही कार्यालयको हाकिम भएर आउन सक्नुहुन्छ, कार्यालय नजलाउनुहोस् भनेर दुई हात जोडेर अनुरोध गरेँ,” पाण्डेले भन्नुभयो । यसोभन्दै गर्दा भुइँ तलामा रहेका तीन वटा सिसी क्यामरा फुटाइसकेका थिए । कार्यालयको सिसा पनि फुटाएतर पनि आफूहरूले सार्वजनिक सम्पत्ति जलाएर के फाइदा हुन्छ ? नजलाउनुहोस्, यो कार्यालयले केही गरेको छैन, भनेर धेरै पटकभन्दा प्रदर्शनकारी हच्किएर बाहिर निस्केको पाण्डे बताउनुहुन्छ । आफ्नो हारगुहारले गर्दा भर्खर निर्माण भएको भवन जोगिन सफल भएकोमा धेरै खुसी लागेको उहाँको भनाइ छ ।
प्रदर्शनकारी बाहिर निस्केर गए तर नजिकै रहेको सडक विभाग र महालेखा परीक्षकको कार्यालयमा आगो लागिरहेको थियो । महालेखाको कार्यालयमा लागेको आगो राति ११ बजे निगमको कार्यालयमा आइपुग्यो ।
विक्रम पाण्डेसहित तीन जना सुरक्षा गार्ड र निगमकै सवारीचालक तीन जना मिलेर फाइर फाइटिङ होसपाइप प्रयोग गरी आगो निभाउन सुरु गरे तर भुइँबाट पाइपले आगो भेटाउन सकेन ।
उनीहरू चार तलामाथि गएर आगो निभाउन थाले । ११ बजेदेखि सुरु भएको आगो सुरक्षा गार्ड र सवारीचालकको प्रयासबाट राति ३ बजे निभ्यो । धेरै सरकारी कार्यालयमा आगो बलिरहेका बेला सुरक्षा गार्डको ठुलो प्रयासले लागेको आगो पनि निभाएर जोगियो निगमको अत्याधुनिक कार्यालय ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सुरक्षा गार्डको कार्यकुशलताले नै कार्यालय जोगाउन सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा तोडफोड भयो, पाँच वटा कम्प्युटर र कुर्सी चोरी भए । ९१ करोड रुपियाँको लागतमा हालै मात्र निर्माण सम्पन्न कर्पोरेट भवनमा कार्यालय सरेको थियो । आन्दोलनकारीको ढुङ्गा प्रहारले भुइँ तलामा क्षति पुगेको छ ।
ल्याब भ्यानमा पनि तोडफोड भएको छ । दर्ता चलानीमा रहेका कम्प्युटर र अन्य महत्वपूर्ण कागजातसमेत चोरी भएका ठाकुरले जानकारी दिनुभयो । कम्प्युटर र ल्यापटप चोरी भएको तर क्षतिको पूर्ण विवरण सङ्कलन भई नसकेको निगमले जनाएको छ ।
यस्तै निगमको टेकु कार्यालय भने पूर्ण रूपमा क्षति भएको छ । टेकु कार्यालयमा रहेका पाँच वटा सवारीसाधन जलेर नष्ट भएका छन् । दाङमा रहेको कार्यालय तोडफोड गरी एउटा गाडी जलाइएको निगमले जनाएको छ ।