• १९ चैत २०८२, बिहिबार

आयल निगमलाई भुक्तानी समस्या

blog

विकल्पबारे मन्त्रालयसँग छलफल जारी 

काठमाडौँ, चैत १९ गते । नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पश्चिम एसियामा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असरले निगम घाटामा गएको हो ।

तेलको मूल्य बढेर आए पनि त्यस अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगम पाक्षिक रूपमा १३ अर्ब रुपियाँ घाटामा गएको छ । युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भई इन्डियन आयल कर्पोरेस (आइओसी) ले पठाएको मूल्य बढेर आए पनि समायोजन हुन सकेको छैन । जसका कारण पनि १५ दिनमा १३ अर्ब ३१ करोड रुपियाँ घाटा हुने देखिएको निगमले जनाएको छ । 

निगमले मूल्य स्थिरीकरण कोषबाट घाटा रकम व्यवस्थापन गर्दै आएको छ । कोषमा रहेको रकम सकिन थालेकाले इन्धनको मूल्य नबढाई भुक्तानी गर्न नसक्ने अवस्था आएको निगमले जनाएको छ ।  

निगमका अनुसार यसअघि तेल खरिद गरेबापत आइओसीलाई १५ दिनमा २२ अर्बदेखि २५ अर्ब रुपियाँ भुक्तानी गर्दै आएकोमा अहिले मूल्य बढेकाले २६ अर्बदेखि २७ अर्ब रुपियाँ पुगेको छ । निगमले आइओसीलाई १५/१५ दिनमा तेल खरिद गरेको रकम भुक्तानी गर्दै आएको छ ।  

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले घाटा बढ्दै गएपछि विकल्पबारे मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो । निगमले विगतमा भएको नाफाबाट केही प्रतिशत रकम मूल्य स्थिरीकरण कोषमा राखेको थियो । अहिलेसम्म सो फन्डको प्रयोग गरेर धानिएको भए पनि अब भने अन्य विकल्पमा जानु अत्यावश्यक भएको उहाँको भनाइ छ । “अब एक साताभन्दा बढी धान्न सक्ने अवस्था छैन,” भट्टले भन्नुभयो, “सरकारले पैसाको जोहो गर्नुपर्ने हुन्छ कि मूल्य बढाउनुपर्ने हुन्छ ।”

निगमका प्रवक्ता मनोज ठाकुरले तेलको मूल्य बढेर आए पनि सोही मूल्य अनुसार समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको जानकारी दिनुभयो । “कोषमा भएको १७ अर्ब रुपियाँ सकिइसक्यो,” मूल्य समायोजन गरिएन भने समयमा भुक्तानी गर्न नसक्दा तेलको आपूर्तिमा समस्या पर्ने देखिन्छ ।” 

दैनिक निगम एक अर्ब रुपियाँ घाटामा गएको र कोषमा भएको रकम रत्तिँदै गएकाले समयमा आइओसीलाई भुक्तानी गरिएन भने ब्याज बढ्ने र आपूर्तिमा अवरोध हुन सक्ने उहाँको भनाइ छ । उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य बढेर आए पनि समायोजन नगरिएकाले इन्धनको खपत घटाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । युद्धका कारण एक महिनाअघि देखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य बढिरहेको छ । आइओसीले मङ्गलबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा ४१ रुपियाँ ६० पैसा, डिजेलमा ९४ रुपियाँ ३३ पैसा, हवाई इन्धन आन्तरिक प्रतिलिटरमा १२३ रुपियाँ मूल्य बढेर आएको छ । यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १९० रुपियाँ बढेर आएको निगमले जनाएको छ । मूल्य बढेर आए पनि निगमले मङ्गलबार हवाई इन्धनको मूल्य मात्र बढाएको थियो । 

हवाई इन्धन आन्तरिक प्रतिलिटरमा १२४ रुपियाँ बढाएर २५१ रुपियाँ पुगेको छ । यस्तै हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर ८१९ 

अमेरिकी डलर बढाएर एक हजार ७१६ अमेरिकी डलर पुगेको छ । छ दिनअघि निगमले डिजेल र पेट्रोल प्रतिलिटरमा १५/१५ रुपियाँ मूल्य बढाएको थियो । 

पछिल्लो तीन वर्षदेखि नाफामा गएको निगम अहिले आएर तेल किन्न नसक्ने अवस्थामा पुगेको छ । निगम आव २०७९/८० मा देखि चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्म निगम नाफामा रहेको थियो । आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो ।