• १० चैत २०८२, मङ्गलबार

युद्धको प्रभाव रासायनिक मलमा, आपूर्ति असहज हुन सक्ने

blog

काठमाडौँ, चैत १० गते । बजारमा रासायनिक मलको आपूर्तिमा असहज हुने देखिएको छ । पश्चिम एसियामा भएको युद्धको प्रभावले रासायनिक मलको उत्पादनमा असर पर्दा आपूर्तिमा समस्या देखिने भएको हो । 

कच्चा तेलको मूल्य बढ्दा रासायनिक मल उत्पादनमा ह्रास आएको छ । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मलको समेत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ९८ अमेरिकी डलर पुगेको छ । 

युद्धका कारण युरिया फ्याक्ट्रीमा असर पर्दा मलको उत्पादनमा कमी आएको बताइएको छ । इन्डोनेसिया, बुरनाई, बहराइन, जोर्डन, मोरक्को, रुसलगायतका देशबाट नेपालमा रासायनिक मल आयात हुने गर्छ । युद्धका कारण बाटो अवरुद्ध हुँदा मल आयात हुन सक्ने अवस्था छैन । 

कच्चा तेलको मूल्य बढेर जहाजको ढुवानी भाडा बढ्दा युरियाको मूल्यसमेत बढेको छ । मलको आपूर्ति असहज हुँदा धान रोप्ने बेला मल अभाव हुने देखिन्छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले युद्धका कारण रासायनिक मलको आपूर्ति असहज देखिएको जानकारी दिनुभयो । 

“बाटोमा आउँदै गरेकोसहित एक लाख ८० हजार मेट्रिक टन मल मौज्दात छ,” सहसचिव श्रेष्ठले भन्नुभयो, “मौज्दात मल थोरै थोरै प्रयोग गरियो भने धान रोप्ने बेलासम्म पुग्ने पनि देखिन्छ ।” थप ९२ हजार मेट्रिक टन मल आयातका लागि सम्झौता भए पनि मल ल्याउन अहिलेको अवस्थामा कठिन रहेको उहाँको भनाइ छ । 

मलको आपूर्ति सहज पार्ने विकल्पमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । छिमेकी मुलुकसँग अनुरोध गर्ने र आपूर्तिकर्तालाई छुट सुविधा दिएर ल्याउन लगाउने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा युद्धका कारण मलको उत्पादन नहुँदा रासायनिक मलको मूल्य २५ देखि ३० प्रतिशतले बढेको छ । दुई महिनाअघि प्रतिमेट्रिक टन पाँच सयदेखि छ सय अमेरिकी डलर रहेको युरियाको मूल्य बढेर अहिले प्रतिमेट्रिक टन ८५० अमेरिकी डलर पुगको छ । यस्तै प्रतिमेट्रिक टन आठ सय अमेरिकी डलर रहेको डिएपीको मूल्य बढेर प्रतिमेट्रिक टन नौ सय अमेरिकी डलर पुगेको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले स्रोत सहमति गरी टेन्डर गरिसकेको मल आउने/नआउने अनिश्चित भएको जानकारी दिनुभयो । युद्ध रोकियो भने असारसम्म थप टेन्डर गरिएको मल आउन सक्ने उहाँले जानकारी दिनुभयो । 

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत रकम व्यवस्थापन गर्ने गरी मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएको थियो । सोही अनुसार धानबालीलाई रासायनिक मलको अभाव नहोस् भनेर कृषि सामग्री कम्पनी लिमिटेडले ६० हजार मेट्रिक थप मल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । युद्धका कारण टेन्डर गरिसकेको मल पनि सप्लायर्सले ल्याउन नसक्ने भनेको कम्पनीले जनाएको छ । 

चालु आवमा छ लाख मेट्रिक टन मल खरिदका लागि २८ अर्ब ८२ करोड १४ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । चार लाख ९१ हजार तीन सय मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरेको मन्त्रालयले जनाएको छ । गत फागुनसम्म (गत आवको मार्गस्थलको परिणामसहित) चार लाख ९५ हजार ९०७ मेट्रिक टन मल आयात भइरहेको मन्त्रालयले जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनसँग युरिया ८५ हजार ८६२ मेट्रिक टन, डिएपी ३५ हजार ५६५ मेट्रिक टन र पोटास १६ हजार २३५ मेट्रिक गरी एक लाख ३७ हजार ६६३ मेट्रिक टन मल मौज्दात छ । थप १६ हजार ३८२ मेट्रिक टन मल बाटोमा आउने क्रममा भए पनि अनिश्चित बनेको छ ।