चरीकोट समाचारदाता
चरीकोट, वैशाख १० गते । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ग्राहकमाथि कारबाही सुरु गरेको छ । कार्यालयले लामो समयदेखि बक्यौता रकम भुक्तानी नगर्ने ३४२ जना ग्राहकलाई कालोसूचीमा राख्दै कारबाहीको दायरामा ल्याएको हो ।
पछिल्लो समय वितरण केन्द्रले महसुल सङ्कलन र चुहावट नियन्त्रणमा आफ्नो सक्रियता बढाएको छ । पटक पटक सार्वजनिक सूचना जारी गर्दा र व्यक्तिगत रूपमा ताकिता गर्दा समेत महसुल बुझाउन बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्ने कार्यलाई कार्यालयले अभियानकै रूपमा अघि बढाएको छ ।
यसैबिच ठुलो रकम बक्यौता राख्ने र सम्पर्कमा नआउने ग्राहकलाई पहिलो चरणमा कालोसूचीमा राखिएको छ । दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख रोशन सिंहले विद्युत् महसुल नबुझाई सेवा उपभोग गरिरहनु कानुनविपरीत भएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार कालोसूचीमा परेका ग्राहकले जरिबानासहितको सम्पूर्ण बक्यौता रकम चुक्ता नगरेसम्म उनीहरूका घर वा व्यवसायमा पुनः विद्युत् जडान गरिने छैन । साथै उनीहरूको विवरण केन्द्रसम्म पठाइएकाले भविष्यमा नेपालभर कतै पनि नयाँ मिटर राख्न नपाउने गरी रोक लगाइएको छ ।
प्राधिकरणले चालेको यो कदमसँगै जिल्लाभरका अन्य ग्राहकमा समेत समयमै महसुल बुझाउनुपर्ने चेतना बढ्ने विश्वास लिइएको छ । केन्द्रले आगामी दिनमा पनि महसुल नबुझाउने ठुला ग्राहकको पहिचान गरी कालोसूचीमा थप्ने र कानुनी प्रक्रियामार्फत रकम असुलउपर गर्ने तयारीलाई निरन्तरता दिने देखिएको छ ।