• १० वैशाख २०८३, बिहिबार

हेडी लामर ब्युटी एन्ड ब्रेनको अद्वितीय सङ्गम

blog

विश्व चलचित्र इतिहासमा केही यस्ता नारी प्रतिभाशाली नारी छन् जो केवल चलचित्रको पर्दामा सीमित नरही त्यसभन्दा बाहिर पनि विशिष्ट पहिचान स्थापित गर्न सफल भएका छन् । यस्तै अद्वितीय प्रतिभाका धनी थिइन् हलिउड अभिनेतृ हेडी लामर । 

हलिउड ‘चलचित्र जगत्की सबैभन्दा सुन्दर अभिनेतृ’ उपमा पाएकी लामरले सौन्दर्य, व्यक्तित्व र सशक्त अभिनयका कारण सफलताको चुली चुमेकी थिइन् तर यदि उनको परिचयलाई केवल सौन्दर्यको कोणबाट मात्रै हेरियो भने त्यसले उनको प्रतिभा र क्षमताको अर्को पाटो ओझेलमा पर्ने छ । उनले विज्ञानका क्षेत्रमा पुर्‍याएको योगदानमाथि अन्याय हुने छ ।  

बाल्यकाल 

हेडी लामरको जन्म सन् १९१४ नोभेम्बर ९ मा अस्ट्रियाको राजधानी भियनामा भएको थियो । उनको बाल्यकालको नाम ‘हेडविग इभा किस्लर’ थियो । उनी पिता एमिल किस्लर र आमा गट्र्रुड किस्लरकी एक्ली सन्तान थिइन् । शिक्षित र सम्पन्न यहुदी परिवारमा जन्मिएकी लामरको बाल्यकाल निकै सुखसयलमा बितेको थियो । 

उनका पिताको तार्किक सोचाइ, अनुशासन र ज्ञानले लामरको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो । कुशल पियानोवादक आमाले उनलाई सङ्गीत र कलामा सानैदेखि अभ्यस्त बनाएकी थिइन् ।

उनका पिता उनीसँगै हिँड्दा बाटोमा देखिने मेसिन, उपकरण र प्रविधिबारे सामान्य जानकारी दिने गर्थे । जसका कारण उनलाई नयाँ नयाँ कुरा सिक्ने र तीबारे जिज्ञासा राख्ने शैलीको विकास हुन पुग्यो । सानै उमेरदेखि उनको यो सोचाइले पछि उनलाई अभिनय बाहिर विज्ञानका क्षेत्रमा सिर्जनशील र अनुसन्धानमुखी बनायो । 

यसरी लामर सानैदेखि अभिनयप्रति आकर्षित बन्न पुगिन् । रङ्गमञ्च, कथा र चलचित्रबाट निकै प्रभावित भइन् । कल्पनाशील, सिर्जनशील र आत्मविश्वासी स्वभावकी लामरले १२ वर्षको उमेरमै भियनामा आयोजित सौन्दर्य प्रतियोगितामा विजय हासिल गरिन् । त्यसबाट उनको आत्मविश्वास झनै बढ्यो । त्यसपछि उनले अभिनय र कला क्षेत्रमा काम गर्ने प्रण गरिन् । लामर सानै उमेरमा कपडाका पुतलीसँग खेल्दा सानो नाटकघर बनाएर अभिनय  गर्थिन् । 

उनले १६ वर्षको उमेरमा विद्यालय छोडेर अभिनय यात्रा सुरु गरिन् । प्रसिद्ध निर्देशक म्याक्स रेनहार्टसँग काम गर्ने अवसर पाइन् ।

अभिनय यात्रा

लामरको प्रारम्भिक अभिनय करियर भियना र जर्मनीको बर्लिनमा सुरु भएको थियो । त्यहाँ उनले नाटक र चलचित्रमा काम गरेकी थिइन् । त्यस क्रममा सन् १९३२ मा सार्वजनिक लामर अभिनीत जर्मन चलचित्र ‘इक्स्टेसी’ ले उनलाई चर्चामा मात्रै ल्याएन त्यसका कारण उनले विवाद नै झेल्नु पर्‍यो । उक्त चलचित्रमा आफूले दिएको नग्न दृश्यका कारण उनी विवादमा मुछिइन् । 

‘इक्स्टेसी’ चलचित्रले उनलाई चर्चामा ल्याए पनि त्यसले उनको निजी जीवनमा समस्या निम्त्यायो । उनका बुवाआमाले समेत उक्त चलचित्रमा छोरीको अभिनयमा दुःख महसुस गरे । उनको करियरमा उक्त चलचित्रको विवादले पछिसम्म पनि पछ्याइरह्यो ।

सुनको पिँजडामा बन्दी

हेडी लामरको सन् १९३३ मा १९ वर्षको उमेरमा फ्रिट्ज मन्डलसँग  विवाह भयो । अस्ट्रियाका हतियार व्यापारी उनका पति मण्डल भने नियन्त्रणकारी स्वभावका थिए । त्यसैले विवाहपछि मण्डलको घर लामरका लागि ‘सुनौलो जेल’ बन्न पुग्यो । 

मन्डलले हतियार व्यापारी भएका कारण उनको घरमा नाजी र इटालियाली सैन्य अधिकारीको बैठक भइरहन्थ्यो । ती बैठकमा हुने गोप्य छलफल, सैन्य प्रविधि र हतियार सञ्चालन बारेका कुराकानी लामरले सुन्ने गर्थिन् । उनका पति मन्डल भने उनलाई केवल सजावटको वस्तु भन्ठान्थे । उनका अगाडि सबै कुरा गर्थे तर लामर ती सबै प्राविधिक कुराको जानकारी राख्थिन् । त्यो अनुभव नै पछि उनको आविष्कारको लागि आवश्यक आधारभूत ज्ञानको स्रोत बन्न पुग्यो ।

हलिउड यात्रा

जर्मन र चेकोस्लोभाकियाली चलचित्रमा सीमित लामरको अभिनय यात्रा सन् १९३७ पछि भने हलिउडतिर मोडियो । उनको हलिउड यात्राका लागि मार्ग प्रशस्त गर्ने काम भने उनको सन् १९३२ मा प्रदर्शित जर्मन चलचित्र ‘इक्स्टेसीले गरेको थियो । हलिउड चलचित्र निर्माताको समेत ध्यानाकर्षित गरायो तर शङ्कालु र नियन्त्रणकारी पतिका कारण उनलाई हलिउड पुग्न त्यति सहज थिएन । त्यसपछि उनले पति मण्डलले थाहा नपाउने गरी भाग्ने योजना बनाइन् । 

सन् १९३७ मा भागेर उनी बहुमूल्य गहनासहित लन्डन पुगिन् । त्यहाँ प्रसिद्ध चलचित्र कम्पनी एमजिएमका प्रमुख लुइस बी. मेयरलाई भेटिन् । उनले नयाँ चलचित्रमा अभिनयका लागि सम्झौता गरिन् र हलिउडतर्फ अघि बढिन् । हलिउड चलचित्रमा हस्ताक्षर गरेपछि उनलाई लुइस मेयरले नयाँ नाम दिए, ‘हेडी लामर’ । 

त्यसपछिका दिनमा उनले हेडी लामरका नामले प्रसिद्धि कमाइन् । यसरी हेडविग इभा किस्लर पछि हेडी लामर बन्न पुगिन् । हलिउडमा उनले अल्जियर्स जस्ता सफल चलचित्रमा सशक्त अभिनय गरिन् । त्यसपछि उनी रातारात एक सुपरस्टार बनिन् । उनको फेसन र कपाल शैली अमेरिकी महिलामाझ निकै लोकप्रिय बन्यो । 

अभिनयसँगै आविष्कार

हलिउड चलचित्र उद्योगमा प्रवेश गरेसँगै सशक्त अनिभय र सौन्दर्यका कारण उनले चर्चाको शिखर चुम्दै गइन् । यसरी ग्लामर रङ्गीन संसारमा रमाइरहेकी लामरले त्यसबिचमा समेत आफ्नो विज्ञानप्रतिको रुचिलाई भने मर्न दिइनन् । हलिउडमा सफलता पाइरहेको भए पनि विज्ञानका क्षेत्रमा आफूभित्रको हुटहुटी जगाई राखिन् । 

व्यस्त अभिनय जीवनबाट समय निकालेर आविष्कार कार्यमा लागिनै रहिन् । फलतः विमानको पखेटालाई थप प्रभावकारी बनाउने डिजाइन र कोकाकोला जस्तै अर्को पेय पदार्थ (सफ्ट ड्रिङ्क) मा काम गरिन् । सन् १९४० मा उनको भेट जर्ज एन्थलसँग भयो । जर्ज एक जना प्रयोगात्मक सङ्गीतकार र पियानोवादक थिए । एन्थलले आफ्नो प्रसिद्ध कृति ब्याले मेकानिकमा धेरै वटा पियानोलाई एकसाथ बजाउन मिल्ने गरी मेकानिकल प्रविधिको प्रयोग गरेका थिए । 

त्यतिबेला संसारभर दोस्रो विश्वयुद्ध चलिरहेको थियो । जापानले पर्ल हार्वरस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा होमियो । विश्वयुद्धमा लामर र जर्ज दुवै अमेरिकाको पक्षमा थिए । उनीहरूले अमेरिकालाई सहयोग गरिरहेका थिए । सो क्रममा लामरले रेडियो नियन्त्रित टर्पिडोलाई शत्रुले जाम गर्न नसक्ने प्रविधि विकास गरिन् । 

फ्रिक्वेन्सी हपिङ : क्रान्तिकारी चमत्कार

लामरले ‘फ्रिक्वेन्सी हपिङ’ प्रविधि अन्तर्गत टर्पिडोलाई नियन्त्रण गर्ने रेडियो सङ्केतलाई एउटै फ्रिक्वेन्सीमा नराखेर विभिन्न फ्रिक्वेन्सीमा छिटो छिटो परिवर्तन गर्ने गरी विकास गरिन् । त्यसलाई उनले शत्रुपक्षले सैन्य सन्देश वा सङ्केतलाई अवरोध गर्न नसक्ने बनाइन् । 

युद्धको समयमा सुरक्षित सञ्चार अत्यन्त महत्वपूर्ण थियो ।  प्रारम्भिक चरणमा उपलब्ध प्रविधिले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसके पनि पछि भने त्यसमा सफलता प्राप्त भयो ।  जहाँ फ्रिक्वेन्सी परिवर्तन भइरहँदा शत्रुपक्षले सङ्केतलाई फेला पार्न वा रोक्न सक्दैनथ्यो । त्यसैले उनले त्यसलाई ‘फ्रिक्वेन्सी हपिङ’ नाम दिइन् । उनीहरूले यस प्रणालीलाई ‘गोप्य सञ्चार प्रणाली’ नामक प्रविधिको पेटेन्ट अधिकार दर्ता गरे । उक्त अवधारणा ‘फ्रिक्वेन्सी हपिङ’ का नामले परिचित बन्न पुग्यो । यो प्रविधिले पछि गएर डिजिटल सञ्चारको क्षेत्रमा ठुलो क्रान्ति ल्याउन सफल भयो । 

सञ्चार जगत्मा नयाँ आविष्कार गरे पनि लामर र जर्जले उपेक्षित हुनु पर्‍यो । लामरलाई आविष्कार मार्ग नपन्छाई विश्वयुद्धमा सुन्दरता र प्रसिद्धिको प्रयोग गरी ‘वार बन्ड’ बेच्न सुझाव दिइयो । त्यसपछि लामर उक्त कार्यमा सहभागी भइन् । बन्ड बेचेर युद्धका लागि ठुलो रकम जुटाइन् । उनले हलिउड क्यान्टिनमा समेत काम गरिन् । लामर र जर्जद्वारा आविष्कारित उक्त प्रविधि भने बर्सौंसम्म सैन्य फाइलमा गोप्य नै राखियो  ।

हेडी लामरको आविष्कार सन् १९५० को दशकमा मात्रै सैन्य क्षेत्रमा पुनः प्रयोगमा ल्याइयो । विस्तारै उक्त प्रविधि सैन्य सञ्चारभन्दा बाहिर आएर नागरिक प्रयोगका लागि पनि उपलब्ध हुन पुग्यो ।  लामर र जर्जद्वारा आविष्कार भएको उक्त ‘फ्रिक्वेन्सी हपिङ’ प्रविधि नै आज विश्वभर वाइफाई, ब्लुटुथ र जिपिएसको आधारभूत जग बन्न पुगेको छ । 

सन् १९९७ मा इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनले उनलाई ‘पायनियर अवार्ड’ प्रदान गरेको थियो । त्यस क्रममा लामरले आफ्नो आविष्कारको उचित कदर भएको महसुस भन्दै गुनासो गरेकी थिइन् । लामरले सन् २००० जनवरी १९ मा ८५ वर्षको उमेरमा अन्तिम सास लिइन् । 

लामरको जीवन सौन्दर्य र बौद्धिकताको अनुपम सङ्गम थियो । तापनि उनको वैवाहिक जीवन सफल रहेन । जीवनमा उनले फ्रिड्रिख माण्डल, जिन मार्की, जोन लोडर, टेडी स्टाउफर, डब्लु. हावर्ड ली र लुइस जे. बोइस गरी छ जनासँग विवाह गरिन् ।

उनको अन्तिम विवाह लुइस जे. बोइससँग सन् १९६३ मा भएको थियो । बोइससँगको विवाह पनि धेरै दिन टिकेन । विवाह भएको दुई वर्ष अर्थात् सन् १९६५ मै उनले बोइसँग सम्बन्धविच्छेद गरिन् । त्यसपछिका दिनदेखि मृत्युपर्यन्त (सन् २०००) सम्म उनले एकल जीवन बिताइन् । उनीबाट तीन जना सन्तान जन्मेका थिए । 

लामर र जर्ज आविष्कारित ‘सेक्रेट कम्युनिकेसन सिस्टम’ का लागि पेटेन्ट नम्बर २,२९२,३८७ प्रदान गरिएको थियो । जसले सुरक्षित वायरलेस सञ्चारको आधार तयार ग¥यो ।   

–युवामञ्च  

Author

रतन भण्डारी