विश्व चलचित्र इतिहासमा केही यस्ता नारी प्रतिभाशाली नारी छन् जो केवल चलचित्रको पर्दामा सीमित नरही त्यसभन्दा बाहिर पनि विशिष्ट पहिचान स्थापित गर्न सफल भएका छन् । यस्तै अद्वितीय प्रतिभाका धनी थिइन् हलिउड अभिनेतृ हेडी लामर ।
हलिउड ‘चलचित्र जगत्की सबैभन्दा सुन्दर अभिनेतृ’ उपमा पाएकी लामरले सौन्दर्य, व्यक्तित्व र सशक्त अभिनयका कारण सफलताको चुली चुमेकी थिइन् तर यदि उनको परिचयलाई केवल सौन्दर्यको कोणबाट मात्रै हेरियो भने त्यसले उनको प्रतिभा र क्षमताको अर्को पाटो ओझेलमा पर्ने छ । उनले विज्ञानका क्षेत्रमा पुर्याएको योगदानमाथि अन्याय हुने छ ।
बाल्यकाल
हेडी लामरको जन्म सन् १९१४ नोभेम्बर ९ मा अस्ट्रियाको राजधानी भियनामा भएको थियो । उनको बाल्यकालको नाम ‘हेडविग इभा किस्लर’ थियो । उनी पिता एमिल किस्लर र आमा गट्र्रुड किस्लरकी एक्ली सन्तान थिइन् । शिक्षित र सम्पन्न यहुदी परिवारमा जन्मिएकी लामरको बाल्यकाल निकै सुखसयलमा बितेको थियो ।
उनका पिताको तार्किक सोचाइ, अनुशासन र ज्ञानले लामरको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो । कुशल पियानोवादक आमाले उनलाई सङ्गीत र कलामा सानैदेखि अभ्यस्त बनाएकी थिइन् ।
उनका पिता उनीसँगै हिँड्दा बाटोमा देखिने मेसिन, उपकरण र प्रविधिबारे सामान्य जानकारी दिने गर्थे । जसका कारण उनलाई नयाँ नयाँ कुरा सिक्ने र तीबारे जिज्ञासा राख्ने शैलीको विकास हुन पुग्यो । सानै उमेरदेखि उनको यो सोचाइले पछि उनलाई अभिनय बाहिर विज्ञानका क्षेत्रमा सिर्जनशील र अनुसन्धानमुखी बनायो ।
यसरी लामर सानैदेखि अभिनयप्रति आकर्षित बन्न पुगिन् । रङ्गमञ्च, कथा र चलचित्रबाट निकै प्रभावित भइन् । कल्पनाशील, सिर्जनशील र आत्मविश्वासी स्वभावकी लामरले १२ वर्षको उमेरमै भियनामा आयोजित सौन्दर्य प्रतियोगितामा विजय हासिल गरिन् । त्यसबाट उनको आत्मविश्वास झनै बढ्यो । त्यसपछि उनले अभिनय र कला क्षेत्रमा काम गर्ने प्रण गरिन् । लामर सानै उमेरमा कपडाका पुतलीसँग खेल्दा सानो नाटकघर बनाएर अभिनय गर्थिन् ।
उनले १६ वर्षको उमेरमा विद्यालय छोडेर अभिनय यात्रा सुरु गरिन् । प्रसिद्ध निर्देशक म्याक्स रेनहार्टसँग काम गर्ने अवसर पाइन् ।
अभिनय यात्रा
लामरको प्रारम्भिक अभिनय करियर भियना र जर्मनीको बर्लिनमा सुरु भएको थियो । त्यहाँ उनले नाटक र चलचित्रमा काम गरेकी थिइन् । त्यस क्रममा सन् १९३२ मा सार्वजनिक लामर अभिनीत जर्मन चलचित्र ‘इक्स्टेसी’ ले उनलाई चर्चामा मात्रै ल्याएन त्यसका कारण उनले विवाद नै झेल्नु पर्यो । उक्त चलचित्रमा आफूले दिएको नग्न दृश्यका कारण उनी विवादमा मुछिइन् ।
‘इक्स्टेसी’ चलचित्रले उनलाई चर्चामा ल्याए पनि त्यसले उनको निजी जीवनमा समस्या निम्त्यायो । उनका बुवाआमाले समेत उक्त चलचित्रमा छोरीको अभिनयमा दुःख महसुस गरे । उनको करियरमा उक्त चलचित्रको विवादले पछिसम्म पनि पछ्याइरह्यो ।
सुनको पिँजडामा बन्दी
हेडी लामरको सन् १९३३ मा १९ वर्षको उमेरमा फ्रिट्ज मन्डलसँग विवाह भयो । अस्ट्रियाका हतियार व्यापारी उनका पति मण्डल भने नियन्त्रणकारी स्वभावका थिए । त्यसैले विवाहपछि मण्डलको घर लामरका लागि ‘सुनौलो जेल’ बन्न पुग्यो ।
मन्डलले हतियार व्यापारी भएका कारण उनको घरमा नाजी र इटालियाली सैन्य अधिकारीको बैठक भइरहन्थ्यो । ती बैठकमा हुने गोप्य छलफल, सैन्य प्रविधि र हतियार सञ्चालन बारेका कुराकानी लामरले सुन्ने गर्थिन् । उनका पति मन्डल भने उनलाई केवल सजावटको वस्तु भन्ठान्थे । उनका अगाडि सबै कुरा गर्थे तर लामर ती सबै प्राविधिक कुराको जानकारी राख्थिन् । त्यो अनुभव नै पछि उनको आविष्कारको लागि आवश्यक आधारभूत ज्ञानको स्रोत बन्न पुग्यो ।
हलिउड यात्रा
जर्मन र चेकोस्लोभाकियाली चलचित्रमा सीमित लामरको अभिनय यात्रा सन् १९३७ पछि भने हलिउडतिर मोडियो । उनको हलिउड यात्राका लागि मार्ग प्रशस्त गर्ने काम भने उनको सन् १९३२ मा प्रदर्शित जर्मन चलचित्र ‘इक्स्टेसीले गरेको थियो । हलिउड चलचित्र निर्माताको समेत ध्यानाकर्षित गरायो तर शङ्कालु र नियन्त्रणकारी पतिका कारण उनलाई हलिउड पुग्न त्यति सहज थिएन । त्यसपछि उनले पति मण्डलले थाहा नपाउने गरी भाग्ने योजना बनाइन् ।
सन् १९३७ मा भागेर उनी बहुमूल्य गहनासहित लन्डन पुगिन् । त्यहाँ प्रसिद्ध चलचित्र कम्पनी एमजिएमका प्रमुख लुइस बी. मेयरलाई भेटिन् । उनले नयाँ चलचित्रमा अभिनयका लागि सम्झौता गरिन् र हलिउडतर्फ अघि बढिन् । हलिउड चलचित्रमा हस्ताक्षर गरेपछि उनलाई लुइस मेयरले नयाँ नाम दिए, ‘हेडी लामर’ ।
त्यसपछिका दिनमा उनले हेडी लामरका नामले प्रसिद्धि कमाइन् । यसरी हेडविग इभा किस्लर पछि हेडी लामर बन्न पुगिन् । हलिउडमा उनले अल्जियर्स जस्ता सफल चलचित्रमा सशक्त अभिनय गरिन् । त्यसपछि उनी रातारात एक सुपरस्टार बनिन् । उनको फेसन र कपाल शैली अमेरिकी महिलामाझ निकै लोकप्रिय बन्यो ।
अभिनयसँगै आविष्कार
हलिउड चलचित्र उद्योगमा प्रवेश गरेसँगै सशक्त अनिभय र सौन्दर्यका कारण उनले चर्चाको शिखर चुम्दै गइन् । यसरी ग्लामर रङ्गीन संसारमा रमाइरहेकी लामरले त्यसबिचमा समेत आफ्नो विज्ञानप्रतिको रुचिलाई भने मर्न दिइनन् । हलिउडमा सफलता पाइरहेको भए पनि विज्ञानका क्षेत्रमा आफूभित्रको हुटहुटी जगाई राखिन् ।
व्यस्त अभिनय जीवनबाट समय निकालेर आविष्कार कार्यमा लागिनै रहिन् । फलतः विमानको पखेटालाई थप प्रभावकारी बनाउने डिजाइन र कोकाकोला जस्तै अर्को पेय पदार्थ (सफ्ट ड्रिङ्क) मा काम गरिन् । सन् १९४० मा उनको भेट जर्ज एन्थलसँग भयो । जर्ज एक जना प्रयोगात्मक सङ्गीतकार र पियानोवादक थिए । एन्थलले आफ्नो प्रसिद्ध कृति ब्याले मेकानिकमा धेरै वटा पियानोलाई एकसाथ बजाउन मिल्ने गरी मेकानिकल प्रविधिको प्रयोग गरेका थिए ।
त्यतिबेला संसारभर दोस्रो विश्वयुद्ध चलिरहेको थियो । जापानले पर्ल हार्वरस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा होमियो । विश्वयुद्धमा लामर र जर्ज दुवै अमेरिकाको पक्षमा थिए । उनीहरूले अमेरिकालाई सहयोग गरिरहेका थिए । सो क्रममा लामरले रेडियो नियन्त्रित टर्पिडोलाई शत्रुले जाम गर्न नसक्ने प्रविधि विकास गरिन् ।
फ्रिक्वेन्सी हपिङ : क्रान्तिकारी चमत्कार
लामरले ‘फ्रिक्वेन्सी हपिङ’ प्रविधि अन्तर्गत टर्पिडोलाई नियन्त्रण गर्ने रेडियो सङ्केतलाई एउटै फ्रिक्वेन्सीमा नराखेर विभिन्न फ्रिक्वेन्सीमा छिटो छिटो परिवर्तन गर्ने गरी विकास गरिन् । त्यसलाई उनले शत्रुपक्षले सैन्य सन्देश वा सङ्केतलाई अवरोध गर्न नसक्ने बनाइन् ।
युद्धको समयमा सुरक्षित सञ्चार अत्यन्त महत्वपूर्ण थियो । प्रारम्भिक चरणमा उपलब्ध प्रविधिले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसके पनि पछि भने त्यसमा सफलता प्राप्त भयो । जहाँ फ्रिक्वेन्सी परिवर्तन भइरहँदा शत्रुपक्षले सङ्केतलाई फेला पार्न वा रोक्न सक्दैनथ्यो । त्यसैले उनले त्यसलाई ‘फ्रिक्वेन्सी हपिङ’ नाम दिइन् । उनीहरूले यस प्रणालीलाई ‘गोप्य सञ्चार प्रणाली’ नामक प्रविधिको पेटेन्ट अधिकार दर्ता गरे । उक्त अवधारणा ‘फ्रिक्वेन्सी हपिङ’ का नामले परिचित बन्न पुग्यो । यो प्रविधिले पछि गएर डिजिटल सञ्चारको क्षेत्रमा ठुलो क्रान्ति ल्याउन सफल भयो ।
सञ्चार जगत्मा नयाँ आविष्कार गरे पनि लामर र जर्जले उपेक्षित हुनु पर्यो । लामरलाई आविष्कार मार्ग नपन्छाई विश्वयुद्धमा सुन्दरता र प्रसिद्धिको प्रयोग गरी ‘वार बन्ड’ बेच्न सुझाव दिइयो । त्यसपछि लामर उक्त कार्यमा सहभागी भइन् । बन्ड बेचेर युद्धका लागि ठुलो रकम जुटाइन् । उनले हलिउड क्यान्टिनमा समेत काम गरिन् । लामर र जर्जद्वारा आविष्कारित उक्त प्रविधि भने बर्सौंसम्म सैन्य फाइलमा गोप्य नै राखियो ।
हेडी लामरको आविष्कार सन् १९५० को दशकमा मात्रै सैन्य क्षेत्रमा पुनः प्रयोगमा ल्याइयो । विस्तारै उक्त प्रविधि सैन्य सञ्चारभन्दा बाहिर आएर नागरिक प्रयोगका लागि पनि उपलब्ध हुन पुग्यो । लामर र जर्जद्वारा आविष्कार भएको उक्त ‘फ्रिक्वेन्सी हपिङ’ प्रविधि नै आज विश्वभर वाइफाई, ब्लुटुथ र जिपिएसको आधारभूत जग बन्न पुगेको छ ।
सन् १९९७ मा इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनले उनलाई ‘पायनियर अवार्ड’ प्रदान गरेको थियो । त्यस क्रममा लामरले आफ्नो आविष्कारको उचित कदर भएको महसुस भन्दै गुनासो गरेकी थिइन् । लामरले सन् २००० जनवरी १९ मा ८५ वर्षको उमेरमा अन्तिम सास लिइन् ।
लामरको जीवन सौन्दर्य र बौद्धिकताको अनुपम सङ्गम थियो । तापनि उनको वैवाहिक जीवन सफल रहेन । जीवनमा उनले फ्रिड्रिख माण्डल, जिन मार्की, जोन लोडर, टेडी स्टाउफर, डब्लु. हावर्ड ली र लुइस जे. बोइस गरी छ जनासँग विवाह गरिन् ।
उनको अन्तिम विवाह लुइस जे. बोइससँग सन् १९६३ मा भएको थियो । बोइससँगको विवाह पनि धेरै दिन टिकेन । विवाह भएको दुई वर्ष अर्थात् सन् १९६५ मै उनले बोइसँग सम्बन्धविच्छेद गरिन् । त्यसपछिका दिनदेखि मृत्युपर्यन्त (सन् २०००) सम्म उनले एकल जीवन बिताइन् । उनीबाट तीन जना सन्तान जन्मेका थिए ।
लामर र जर्ज आविष्कारित ‘सेक्रेट कम्युनिकेसन सिस्टम’ का लागि पेटेन्ट नम्बर २,२९२,३८७ प्रदान गरिएको थियो । जसले सुरक्षित वायरलेस सञ्चारको आधार तयार ग¥यो ।