सन्तोष दहित
दाङ, वैशाख १० गते । नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थाप अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाको मुल गेटमा कालो ब्यानर प्रदर्शन गरेको छ।
फोनिज दाङले स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक घोषणा गर्नका लागि दबाबस्वरूप केन्द्रीय कार्यक्रम अन्तर्गत फोनिज दाङले महासंघ दाङ शाखाको गेटमा कालो ब्यानर टाँगेर प्रदर्शन गरेको हो । स्व. श्रेष्ठले तत्कालीन नेपाल पत्रकार संघको विसं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको थियो।
कार्यक्रममा फोनिज दाङका इन्चार्ज सन्तोष दहितले स्वर्गीय श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गर्दै महासंघले श्रेष्ठप्रति विभेद गरेको ध्यानाकर्षण गराउँदै श्रेष्ठको इतिहास हेर्न अनुरोध गर्नुभयो । महासङ्घ बनाउनमा श्रेष्ठको महत्त्वपूर्ण योगदान भएकोले महासंघले श्रेष्ठलाई संस्थापकको रूपमा लिनुपर्ने जोड दिनुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव सबिन प्रियाशनले यो विषयमा आफू गम्भीरतापूर्वक लाग्ने बताउनुभयो । स्वर्गीय श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गर्दै सचिवले प्रियासनले उहाँको योगदान र सम्मानको लागि महासंघको केन्द्रीय बैठकमा आफूले कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फोनिज दाङका अध्यक्ष दिप्तिशिखा चौधरीको अगुवाईमा भएको कालो ब्यानर प्रदर्शन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर र महासंघका सदस्य नारायण नेपाल लगायतको सहभागिता थियो।