• १० वैशाख २०८३, बिहिबार

हिमामा पाठेघर क्यान्सर परीक्षण शिविर, १७१ जनाको जाँच

blog

हिमा गाउँपालिका–बड्की स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविर। तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, वैशाख १० गते ।
हिमामा गाउँपालिकाले महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविर सम्पन्न गरेको छ। शिविरमा १७१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको हो।

पहिलो दिन बड्की स्वास्थ्य चौकीमा ९४ जना र प्राथमिक स्वास्थ्य केन्द्र तलिकुडुमा ७७ जना गरी कुल १७१ जनाको पाठेघरको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ। हिमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब छैटौँ शुक्रराज शाहीका अनुसार बड्कीमा जाँच गराएकामध्ये सबैको अवस्था सामान्य देखिएको छ भने तलिकुडुमा एक जनामा शङ्कास्पद अवस्था देखिएको छ।

शिविरमा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको परीक्षणसँगै औषधी वितरण र स्वास्थ्यकर्मीमार्फत परामर्श सेवा पनि प्रदान गरिएको थियो।

स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाका ६ वटै वडाका महिलालाई सेवा दिने गरी दुई स्थानमा दुई दिने शिविर सञ्चालन गरिएको हो। वडा नं. १ देखि ३ सम्मका लागि बड्की स्वास्थ्य चौकी र वडा नं. ४ देखि ७ सम्मका लागि आधारभूत स्वास्थ्य केन्द्र तलिकुडुमा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्रीरोग विशेषज्ञ डा. सागर कोइरालाले परीक्षण तथा उपचार गर्नुभएको थियो।

हिमा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले प्राविधिक सहयोग गरेको हो। नेपालमा प्रत्येक वर्ष करिब दुई हजारदेखि २५ सय महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र करिब १३ सयदेखि १५ सय महिलाको सोही रोगका कारण मृत्यु हुने तथ्याङ्क रहेको छ।

गाउँका महिलालाई स्थानीयस्तरमै परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले टाढा–टाढाका बस्तीका महिलाहरू शिविरमा सहभागी भएका थिए। वडा नं. ३ की पम्फा रोकायाले गाउँमै सेवा पाउँदा सहज भएको बताउँदै पहिले रोग लुकाउने अवस्था रहे पनि अहिले सहज रूपमा परीक्षण गर्न पाइएको बताउनुभयो।

शिविर उद्घाटनका क्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग गर्नु सरकारको दायित्व भएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले विभिन्न साझेदार संस्थासँग सहकार्य गरी विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म १२ वटा स्वास्थ्य शिविर सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य संयोजक रतनबहादुर रावतले दुर्गम बस्तीका महिलाहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले महिलाहरूको स्वास्थ्यप्रति अझै खुलेर सेवा लिन नमान्ने प्रवृत्ति रहेको पनि उल्लेख गर्नुभयो। शिविरमा सहयोग गर्ने प्लान नेपाल र पेश नेपाललाई गाउँपालिकाले धन्यवाद दिएको छ।