• १० वैशाख २०८३, बिहिबार

तम्घास बजारमा फोहोर फाल्ने र ढलमा मिसाउनेमाथि कारबाही सुरु

blog

रेसुङ्गा नगरपालिकाको कार्यालय। तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १० गते ।
रेसुङ्गा नगरपालिकाले तम्घास बजारको सौन्दर्यीकरण र सरसफाइका लागि नागरिकलाई जवाफदेही बनाउने अभियान सुरु गरेको छ। बजार क्षेत्रका केही नागरिकले आफ्नो घर तथा पसल अगाडि, सडक क्षेत्रमा जथाभाबी फोहोर फाल्ने तथा घर पछाडिका खोला र सार्वजनिक स्थलमा फोहोर बिसर्जन गर्ने गरेका छन्।

त्यस्तै, शौचालयको सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोर सिधै ढलमा मिसाउँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको भन्दै व्यापक जनगुनासो आउने गरेको छ। जनगुनासोका आधारमा नगरपालिकाले तम्घास बजारको सरसफाइ र सौन्दर्यीकरणका लागि थप निगरानी तथा कारबाही अभियान सुरु गरेको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, वातावरण संरक्षण ऐन, २०७६ तथा प्रचलित सरसफाइसम्बन्धी मापदण्ड अनुसार गरिएका यस्ता कार्यहरू कानुनविपरीत भएकाले सार्वजनिक स्वास्थ्य, वातावरणीय सन्तुलन तथा नगरको सौन्दर्यमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको नगरपालिकाको ठहर छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार सार्वजनिक सूचना जारी गर्दै सबै नगरवासीलाई सडक, सार्वजनिक स्थल, खोला तथा नालामा फोहोर नफाल्न, घर तथा व्यवसायबाट निस्कने फोहोर व्यवस्थापन निर्धारित विधि अनुसार गर्न आग्रह गरिएको छ। साथै नगर विकास तथा वातावरण संरक्षण संस्थासँग समन्वय गरी सरसफाइ कार्ड अनिवार्य बनाउन पनि अनुरोध गरिएको छ।

त्यस्तै, शौचालयको सेफ्टी ट्याङ्कीको निकास सिधै ढलमा नजोड्ने तथा मापदण्ड अनुसार व्यवस्थापन गर्ने, घर वरपरको सरसफाइ तथा सौन्दर्यीकरणमा सक्रिय सहभागिता जनाउन नगरपालिकाले आग्रह गरेको छ। सूचनाको उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार जरिवाना तथा आवश्यक कारबाही गरिने पनि जनाइएको छ।

नगरपालिकाले घरको छतबाट निस्कने वर्षाको पानी सिधै पिच सडकमा झारिँदा सडकको दीर्घकालीन क्षति, पैदल यात्री तथा सवारी आवागमनमा असुविधा र दुर्घटनाको जोखिम बढेकाले यस्तो कार्य नगर्न आग्रह गरेको छ। वर्षाको पानीलाई सुरक्षित रूपमा ड्रेनेज प्रणालीमार्फत व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ।

सूचनाको अवज्ञा गरी छतको पानी सिधै सडकमा झारेको पाइएमा सम्बन्धित घरधनीको पाइप काटिने तथा प्रचलित कानुन अनुसार जरिवाना र अन्य कारबाही गरिने नगरपालिकाले जनाएको छ।