गुणबहादुर रोका
सुलीकोट, वैशाख १० गते । गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीको बगरमा गरिएको तरबुजा खेतीले राम्रो उत्पादन दिन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। विगतका वर्षहरूमा खाली रहने बगर अहिले हरियालीले भरिँदै तरबुजा फल्न थालेपछि किसानको आम्दानीको नयाँ स्रोत बनेको छ।
गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमअनुसार मुलुकी सहकारी संस्थासँगको सहकार्यमा दरौदी नदी बगरमा सुरु गरिएको तरबुजा खेती अहिले उत्पादन दिन थालेको हो। बाँझो तथा उपयोगविहीन जमिनलाई उत्पादनमुखी बनाउने उद्देश्यले सुरु गरिएको यो अभियानले प्रारम्भिक चरणमै सकारात्मक संकेत देखाएको छ।
केही महिना अघि परीक्षणका रूपमा सुरु गरिएको खेती अहिले विस्तार हुँदै उत्पादन दिने चरणमा पुगेको छ। स्थानीय किसान तथा सहकारीका सदस्यहरू मिलेर आधुनिक प्रविधि र सामूहिक श्रमको प्रयोग गर्दै तरबुजा उत्पादनमा जुटिरहेका छन्। हाल बगरमा लगाइएका तरबुजाका बोटमा फल लाग्न थालेपछि किसानहरू उत्साहित भएका छन्।
गोरखा नगरपालिकाले बगर क्षेत्रको सदुपयोग गरी आयआर्जन बढाउने लक्ष्यसहित यस कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालका अनुसार तरबुजा खेती सफल भएमा यसलाई विस्तार गर्दै अन्य बगर क्षेत्रमा पनि विस्तार गरी आम्दानी वृद्धि गर्न सकिनेछ।
सामूहिक तरबुजा खेतीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले अन्य इच्छुक समूह तथा व्यक्तिहरूलाई पनि यस्ता उत्पादनमुखी कार्यमा जोडिन आग्रह गरेको छ। दरौदी तथा अन्य नदी किनारका बगरमा खेती गर्न चाहनेहरूले यहाँको नमुना खेती अवलोकन गरी सिक्न सक्ने बताइएको छ। आवश्यक प्राविधिक सहयोग, तालिम तथा समन्वयका लागि नगरपालिका तयार रहेको नगरप्रमुख कृष्ण रानाले बताउनुभयो।
गोरखा नगरपालिका–१० का स्थानीय किसान विष्णु कुमालका अनुसार बगरमा गरिएको तरबुजा खेतीले राम्रो आम्दानी दिने सम्भावना देखिएको छ। अबको केही दिनभित्र उत्पादन बजारमा लैजाने तयारी भइरहेको छ। यसले गोरखामा कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास लिइएको छ।