• १० वैशाख २०८३, बिहिबार

टिटी ताल पर्यटक आकर्षणको केन्द्र बन्दै

blog

मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित लाम्चो आकारको आकर्षक टिटी ताल। तस्बिर : हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख १० गते । मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित लाम्चो आकारको टिटी ताल अवलोकनका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ। तालको भ्रमणमा आउनुभएकी छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले तालमा पौडिरहेका हाँस र बिच भागका थुम्कामा बनाइएका गुँड देखेर दंग पर्नुभयो।

धुपी र सल्लाका रुखले घेरिएको आकर्षक पूर्वाधारयुक्त यस तालको प्राकृतिक सौन्दर्यले तिलिजाजस्तै दैनिक रूपमा आउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ। धौलागिरी र निलगिरि हिमालसहितको दृश्य, प्राकृतिक सुन्दरता र भौगोलिक बनावटका कारण टिटी ताल अवलोकनमा आउने पर्यटक सन्तुष्ट भएर फर्किने गरेका छन्।

पर्यटक तिलिजाले भन्नुभयो, “पर्यटकलाई लक्षित गरी पूर्वाधार धमाधम निर्माण गरिएको रहेछ। आकर्षक तालमा पूर्वाधार थपिएपछि अवलोकन सहज भएको छ।”

छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको क्षेत्र भएकाले अवलोकनसँगै आगामी दिनमा भ्रमणका लागि समेत प्रचारप्रसारमा सहयोग गर्ने उहाँले बताउनुभयो।

समुद्री सतहबाट दुई हजार ६ सय ७९ मिटर उचाइमा रहेको तालमा हाँसको बथान अवलोकन गर्दा फरक अनुभूति हुने स्याङ्जाबाट आएका पर्यटक दर्शन न्यौपानेले बताउनुभयो। बेनी–जोमसोम सडकअन्तर्गत लेते–छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुल हुँदै आउने पर्यटकलाई कालीगण्डकी नदीमाथि निर्माणाधीन लेते–छयो पक्की पुल अलपत्र हुँदा सास्ती हुने गरेको छ।


मुस्ताङका तालहरूमध्ये सबैभन्दा ठुलो मानिने टिटी ताललाई आकर्षक गन्तव्य बनाउन गाउँपालिकाले हरेक वर्ष पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत विकास परियारले बताउनुभयो। “पूर्वाधार थपिएपछि चहलपहल बढेको छ, घुम्नैपर्ने पर्यटकीय स्थल बनाउने लक्ष्य छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा ढुंगा बिछ्याउनका लागि १२ लाख रुपियाँ विनियोजन गरिएको छ। ताल धार्मिक महत्वको क्षेत्र भएकाले मन्दिर निर्माणलगायत भक्तजनलाई सहज हुने अन्य पूर्वाधारमा समेत खर्च गरिएको छ। तालमा संघीय सरकारअन्तर्गत पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गरिरहेका छन्।

ताल क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको एक्याप प्रमुख राजेश गुप्ताले बताउनुभयो। तालको संरक्षण तथा अध्ययनका लागि विद्यार्थी र समुदायस्तरका अवलोकन भ्रमण गरिँदै आएको छ।

एक्यापका अनुसार टिटी तालमा नेपालका अन्य स्थानमा नपाइने ‘मालार्ड’ प्रजातिको हाँस पाइन्छ भने कुल १८६ प्रजातिका चराहरूको बासस्थान रहेको रेकर्ड छ। थासाङ गाउँपालिकाभित्र टिटी तालसँगै सेकुङ र भुतर्छो ताल पनि रहेका छन्। तर प्रचारप्रसार र पूर्वाधार अभावका कारण ती तालहरू ओझेलमा परेका छन्।



Author
हरिकृष्ण शर्मा

उहाँ गोरखापत्रका लागि म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ ।