• १० माघ २०८२, शनिबार

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात (फोटो फिचर)

blog

उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा भइरहेको हिमापात । तस्बिरः हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), माघ १० गते । उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो । 

तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङलगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । 

एक्याप प्रमुख पौडेलले भन्नुभयो, ‘‘लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’’ सदरमुकाम जोमसोमदेखि लोमान्थाङ जोड्ने सडक खण्डमा समेत हिमपातले सवारीसाधन आवत–जावतमा कठिनाइ भएको छ । 

उपल्लो मुस्ताङमा हिमपात भएसँगै उच्चलेंकका डाँडाकाँडा सेताम्मे भएका छन् । चिसोका कारण नदी, घरका धारा, सेप्टी ट्याङ्की र सिँचाइ कुलो समेत जमेको छ । लोमान्थाङ बजार सम्जुङ, चुमजुङ, छोसेर र कोरलानाका आसपासका क्षेत्रमा हिमपात भएको छ । 

कोरला नाकामा पर्यटकको आगमन सुन्य छ भने स्थानीय ब्यवसायी निकै कम छन् । छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयमा समेत पछिल्लो समय  राजस्व संकलन भएको छैन । तिब्वत क्षेत्रमा समेत हिमपात भएकाले मालबाहक सवारीसाधन कोरला नाकाबाट प्रवेश गरेका छैनन् । 

त्यस्तै, लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, याराघारा तथा आसपासका क्षेत्रमा भइरहेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा पशुचौपाया हेर्ने गोठाला, बुढापाकाको संख्या देखिए पनि धेरै पोखरा, काठमाडौं गएका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका ८० प्रतिशत स्थानीय पुस महिनामै बेसी झरिसकेका छन् । सामुदायिक, गुम्बा विद्यालयले पोखरालगायतका क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तल्लो मुस्ताङमा समेत हिमपातका कारण जनजीवन कष्टकर छ । मुस्ताङ भ्रमणमा रहेका पर्यटकलाई समेत अनुकुल मौसम नहुदाँसम्म पर्यटकीयस्थलमा नजान अनुरोध गरिएको छ । 

Author
हरिकृष्ण शर्मा

उहाँ गोरखापत्रका लागि म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ । 

लेखक बाट थप