• २१ फागुन २०८२, बिहिबार

बाक्लो हिमपातले पुरियो चरन क्षेत्र

blog

चरन क्षेत्र हिउँले पुरिएपछि सुरक्षित स्थानतर्फ लैजादै गरेको च्याङ्ग्राको बथान । तस्बिर हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), माघ १६ गते । लोमन्थाङ गाउँपालिकाका चौरीपालक पासाङ गुरूङको निलेकाँचुङमा करिब एक सय याकनाक गोठ आसपासमा बाक्लो हिमपात भएको छ । अत्यधिक हिमपातसँगै करिब ४ फिट हिउँ जमेको चरन क्षेत्रमा आवश्यक पर्ने आहारको व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ ।

मुस्ताङका अगुवा चौरीपालक कृषक गुरूङले गोठभित्र बाच्छाबाच्छीलाई जोगाएर राखेको बताउनुभयो । लोमान्थाङका याकपालक कृषकको करिब ६ सय याकनाक समुन्द्री सतहदेखि करिब ३७ सय मिटरको उचाइको चरन क्षेत्रमा छन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरूङले हिमपातसँगै समुन्द्रि सतहदेखि चार हजार सात सय मिटरको उचाइमा रहेका च्याङ्ग्राको चरन क्षेत्रमा भारी हिमपात भएपछि अहिले चरनको खोजीमा हुनुहुन्छ । मध्ये माघ महिनामा एक्कासी हिमपात भएपछि सात सयभन्दा बढी च्याङ्ग्रा जोगाउन हम्मेहम्मे परेको छ ।

आफ्नोभन्दा बढी चिन्ता च्याङ्ग्राको चिन्ताले गोठालाको रूपमै चरन क्षेत्रमै बिताउने गुरूङले आफ्नो ज्यान जेनतेन चलाउन सके पनि च्याङ्ग्राको चरन क्षेत्र हिउँले पूरेपछि आहारा खोज्न र सुक्खा ठाउँमा राख्न निकै समस्या भएको बताउनुभयो । ‘‘अत्यधिक हिमपातले चरन क्षेत्रमा घाँस पुरिएको छ, धेरै हिमपात हुदाँ च्याङ्ग्रा नै पुरिने जोखिम छ’’ उहाँले भन्नुभयो ।

चरन क्षेत्रमा पाँच वर्षपछि भारी हिमपात भएपछि बस्तीबाट दाना लिएर खुवाउनु पर्ने बाध्यता रहेको याक पालक कृषक गुरूङले बताउनुभयो । उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा २३ वटा गोठमा २४ सय ५० याक रहेका छन् ।

कठोर हावापानीमा हुर्किने याक र च्याङ्ग्रालाई हिमपातले चरन क्षेत्र छोपेपछि वैकल्पिक आकारको व्यवस्थापन गर्ने गरी बस्ती क्षेत्रमै गोठ सानुपर्ने बाध्यता रहेको कार्यालयका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो । कार्यालय प्रमुख डा. अर्यालले भन्नुभयो, ‘‘हिमपातले चरन क्षेत्र राम्रो हुन्छ, तत्काललाई समस्या छ,  हिउँमै बस्ने भएकाले चिसोबाट क्षति हुने सम्भावना हुँदैन ।’’

अत्यधिक चिसो मौसममा हुर्किने भएकाले याक र च्याङ्ग्रालाई ऋणात्मक तापक्रमले समेत सहज हुने भएकाले गोठ चरन क्षेत्रमै छन् । जिल्लाको पाँचवटै स्थानीय तहको चरन क्षेत्रमा बाक्लो हिमपात भएपछि ठुलो सङ्ख्यामा रहेका पशुचौपायालाई समस्या भएको छ ।  

Author
हरिकृष्ण शर्मा

उहाँ गोरखापत्रका लागि म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ ।