मुक्तिनाथ (मुस्ताङ), माघ १२ गते । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिए । सोही विद्रोहका कारण वि.सं. २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरियो ।
सन् १९८१ को नेपालचीनबिच व्यापार सम्झौताअनुसार सीमा क्षेत्रका बासिन्दालाई शून्य भन्सारमा तिब्बती सामग्रीको निरूबाध व्यापार गरिन्थ्यो । बि.स २०५८ सालसम्म प्रवेशमा कुनै अवरोध नरहेको सीमा वि.सं २०५९ देखि चीनले तारबार गरेर अन्तरदेशीय मेला बाहेकको अवधिमा नाका पूर्णरूपमा बन्द गरेपछि चाडपर्व र तिब्वतीको चाहनाअनुसार मात्र नाकामा व्यापार मेलामा करिब १५ दिनसम्म लाग्ने ब्यापार मेला आयोजना गरिए पनि कुनै समय बिचमै मेला रोकिएका घटनासमेत छन् ।
तिब्बतमा उत्पादन हुने सामान, कृषि तथा पशु मुस्ताङ प्रवेश गर्न सहज थियो भने मुस्ताङबाट नेपाली उत्पादन तिब्बतमा प्रवेश निकै कठिनाइ हुन्थ्यो । एक शताब्दी अघि पूर्णरूपमा रोकिएको नाका विस्तारै खुकुलो हुदै अहिले व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । अनेक उतारचढाव र समस्याको गाँठो फुक्दै गएसँगै वि.स २०८० कात्तिक २७ देखि औपचारिक रुपमा भब्य समारोहबिच कोरला नाकाको उद्घाटन भएकोमा चालु आर्थिक वर्ष २०८२–८३ सालको भदौ ३० गते व्यावसायिक रूपमा सञ्चालनमा आएको नाकाले माघ ९ गतेसम्म ५ अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ ।

हालसम्म २ हजार ३ सय २९ विद्युतीय (ईभी) गाडीसहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । कोरला नाकाबाट –११ अर्बको पैठारी हुँदा २० करोड मूल्य बराबरको नेपालमा उत्पादन भएका हस्तकला, जडिबुटी, पस्मिना लगायत विभिन्न उत्पादन निकासी भएको छ ।
समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रमा ५५ भन्दा बढी पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामान बिक्री गरिरहेका छन् । लोमान्थाङ –१ र २ वडासहित गाउँपालिका भित्रका करिब १ सय १४ जनाभन्दा बढीले ब्यवसाय र चिनियाँ भन्सार कार्यालयमा पुगेर सामान खरिद गरिरहेका छन् ।
ब्यापार, ब्यवसायसँगै स्थानीयले चिनियाँ भन्सार कार्यालयबाट भित्रिने सामान लोड गरेका कन्टेनर समेत भन्सार कार्यालयसम्म ल्याउने, सामान लोड, अनलोडबाट समेत मनग्य आम्दानी गरिरहेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘कोरला नाका सञ्चालनमा आएपछि स्थानीयलाई ब्यवसाय र रोजगारीको कुनै समस्या छैन, थप सिपयुक्त बनाउन समेत सहयोग गरिरहेका छौ ।’’ कोरला नाकामा आर्थिक कारोबारसँगै नेपाली पर्यटकको समेत रोजाइमा परेको छ ।
बर्षेनी हजारौं पर्यटक नाकासम्म पुगेर अवलोकन गरी फर्किने गरेका छन् । पर्यटन क्षेत्रमा समेत कोरला नाकाले आफ्नो छुट्टै पहिचान बनाएको छ । गण्डकी प्रदेशको चिनसँग जोडिएको एक मात्रै भन्सार कार्यालय रहेको मुस्ताङमा चालु आवमै राजस्व संकलनदेखि चिनियाँ र नेपाली ब्यवसायीको आकर्षणले आर्थिक हब बन्ने निश्चित भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो ।
कोरला नाकालाई नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारका लागि समेत प्रयोग गर्न सकिने निजी क्षेत्रको धारणा रहेको अध्यक्ष लालचनको भनाइ छ । नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल समेत पुगेर फर्किनुभएको थियो ।
चिन र भारतलाई जोड्ने छोटो मार्गको रुपमा स्थापित कोरला नाका आर्थिक कारोबार, पर्यटन तथा धार्मिक क्षेत्रको प्रवर्धनमा समेत जोड्न सकिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरी रहेको छ । कोरला नाका आर्थिक मात्रै नभई तिब्वतमा रहेको धार्मिक तथा पर्यटकीयस्थलका लागि समेत उपयुक्त मानिन्छ । कोरला नाकाबाट हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तीर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि जान सबैभन्दा सजिलो र कम खर्चिलो हुुन्छ ।
कात्तिक महिनाको दोस्रो साता अध्यागमन (इमिग्रेसन) उद्घाटन भएको एक बर्षपछि पहिलो पटक भिजिट भिषा लिएर लोमन्थाङ गाउँपालिकका अध्यक्ष टसी न्हुर्वु गुरुङको नेतृत्वमा उपाध्यक्ष छयुमी बिष्ट गुरुङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाबाट उपाध्यक्ष छिरिङ ल्हामो गुरुङसहित १३ जना जनप्रतिनिधिको टोली ल्हासासहित तिब्वतका प्रख्यातस्थलको भ्रमणमा गरेर फर्किनुभएको छ ।
नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेन जिल्लामा पुगेपछि त्यहाँबाट ४ सय किलोमिटरको यात्रापछि ल्हासा सहरमा पुगिन्छ । तिब्वती सहरमा प्रवेश गर्ने पर्यटकले बौद्ध धर्माबलम्बीको पवित्र शहरभित्र बौद्ध धर्मका प्रणेता पद्मसम्भवले सिद्धिप्राप्त गरेको स्थान, दलाई लामाको शीतकालीन दरबार, पोतला र नोर्बुहिङसहित सातौं र पन्धौ सताब्दीमा निर्मित चर्चित दरबारहरूसहित अन्य पर्यटकीयस्थलको अवलोकन समेत गर्न पाइन्छ ।

पूर्वाधार छैन
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको एउटा कोठाभित्र ५ जना बस्दा पनि भिड हुन्छ । भन्सार कार्यालयमा पूर्वाधार विस्तारका लागि न्यूनतम १० करोड बजेट आवश्यक पर्ने भए पनि चालु आर्थिक बर्ष २०८२–८३ सालमा जम्मा ५० लाख रुपियाँ बिनियोजन भए पनि हालसम्म पूर्वाधार विस्तारको काम सुरू भएको छैन ।
दैनिक करोडौंको राजस्व संकलन गर्ने कार्यालयको भौतिक पूर्वाधार प्रमुख समस्या रहेको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो । भन्सार कार्यालय प्रमुख खड्का भन्नुहुन्छ, ‘‘पाँचवटा कोठामा काम गर्ने, सुत्नुपर्ने बाध्यता छ, पूर्वाधार नहुँदा धेरै समस्या झेल्नुपरेको छ ।’’
जाडो मौसममा होटल बन्द हुँदा काम गर्ने कोठामै रात विताउनुपर्ने बाध्यता रहेको प्रमुख खड्काको भनाइ छ । भन्सारसँगै अध्यागमन कार्यालय, सुरक्षा निकायसहित अन्य सरकारी संरचना समेत अस्थायी छन् । छोसेरको नेचुङ भन्सार कार्यालय क्षेत्रमै करिब तीनसय रोपनी क्षेत्रफल सरकारी जमिन रहेकोमा भन्सार कार्यालयका विभिन्न यूनिटका लागि संरचना बनाउन पर्याप्त छ ।
कोरला नाकाबाट २० किलोमिटर यता तिब्वततर्फ सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ । कोरला नाकालाई नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारमा समेत जोड्न सकेमा नेपालको अर्थतन्त्रमा कोशेढुंगा सावित हुने बुझाइ छ ।
यसबर्ष पहिलोपटक मुस्ताङमा ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदैछ । विश्व भन्सार सङ्गठनले हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरी भन्सार दिवस मनाउने गरेको छ ।