मुक्तिनाथ (मुस्ताङ), माघ १९ गते । माथिल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबैजसो बस्ती सुनसान छ । बजार तथा ग्रामीण क्षेत्रमा रहेका होटल, पसल तथा व्यक्तिको घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
गाउँ तथा आसपासको क्षेत्र हिउँले छपक्कै छोपिएको छ । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गापाका करिब ८० प्रतिशत स्थानीय कठ्याङ्ग्रिँदो चिसोसँगै बेँसी झरेका छन् । गत मङ्सिर र पुस महिनामा जाडो छल्न झरेकाहरू गाउँ नफर्किएका कारण आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौकनता छैन ।
गाउँमा कुरुवा, वृद्धवृद्धासहित केही सर्वसाधारण बाहेक स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारण जिल्ला बाहिर भएका कारण उम्मेदवार मनोनयन दर्तापछि माथिल्लो क्षेत्रमा प्रवेश गरेका छैनन् ।
दुबै पालिकाको मुख्य बस्ती चराङ, लोमान्थाङ, छोसेरसहित छोण्हुप, घमी, सुर्खाङजस्ता धेरै जनसङ्ख्या भएका बस्तीहरूमा फागुन नलागी चहलपहल हुने सम्भावना न्यून रहेको स्थानीयको भनाइ छ ।
आगामी फागुन २१ गते जिल्लामा मुख्य प्रतिस्पर्धा हुने नेपाली कांग्रेसका उम्मेदवार प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली मनोनयदर्ता लगत्तै पोखरा, काठमाडौँमा रहेका मतदातामा केन्द्रित हुनुहुन्छ । माथिल्लो मुस्ताङको दुई गाउँपालिकामा ३५ सय ५३ मतदाता छन् ।
नेकपा (एमाले) का उम्मेदवार विष्ट भन्नुहुन्छ, ‘‘माथिल्लो क्षेत्रका मतदाता जिल्ला बाहिर भएकाले चुनावी प्रचारप्रसार गाउँमा हुन सकेको छैन्, हामीले चुनाव केन्द्रित अभियानलाई जिल्ला बाहिर रहेका मतदातामा केन्द्रित गरेका छौं ।’’ पहिलो पटक संसदीय निर्वाचनमा माथिल्लो क्षेत्रबाट उम्मेदवार बन्नुभएका विष्टले फागुन महिनामा मतदातासँगै गाउँ फर्किने योजना रहेको बताउनुहुन्छ ।
नेपाली कांग्रेसका उम्मेदवार थकालीले मतदाता भेटघाटसहित चुनावी रणनीति बनाउन केन्द्रित रहेको बताउँदै मतदाता अनुकुल हुने क्षेत्रमा केन्द्रित भएर चुनावी गतिविधि सञ्चालन गरेको बताउनुभयो ।
जाडो याममा बस्ती क्षेत्रमाभन्दा मतदाता केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला बाहिर विभिन्न सहरमा स्थायी तथा अस्थायी बसोबास गरेका मतदातालाई सम्पर्क गर्नुपरेको थकालीको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘मैले कार्यतालिका बनाएर अगाडि बढेको छु, मतदातालाई भेट्न देशभर जाने योजना छन ।’’
यसैबिच नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली काठमाडौँमा रहेका मतदातालाई आफ्नो पक्षमा पार्न बिहानैदेखि घरदैलो अभियानमा जुट्नु भएको छ ।
गत माघ ६ गते मनोनयन दर्ता गरेलगत्तै जिल्ला बाहिर गएका उम्मेदवारले मतदाता बसेको स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिरहेकाले तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा समेत चुनावी चहलपहल कम छ । तल्लो क्षेत्रका करिब ५० प्रतिशतभन्दा बढी मतदाता जिल्ला बाहिर छन् ।
यहाँ ७ हजार ७ सय ७५ मतदाता रहेका छन् । माथिल्लो क्षेत्रका विद्यालयले पोखरा, तनहुँ लगायतका जिल्लामा घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् । तल्लो क्षेत्रमा पर्ने तीन स्थानीय तहले जाडो बिदा दिएकाले अभिभावक बालबालिका लिएर जिल्ला बाहिर छन् । यहाँ चुनावी चहल–पहलका लागि जमघटलाई चिसोले रोकेको छ ।
विगतमा स्थानीय तहको निर्वाचन वैशाख तथा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन मङ्सिर महिनामा हुने भएकाले पनि उम्मेदवारलाई अहिलेजस्तै गरी मतदाता खोज्दै हिड्नुपर्ने झन्झट थिएन । यसपटक फागुनमा हुने निर्वाचनमा सबैभन्दा धेरै समस्या भएको र उम्मेदवारको समेत खर्च बढ्ने अनुमान गरिएको छ ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्ति क्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।