• १० वैशाख २०८३, बिहिबार

दुई चिकित्सक प्रहरी नियन्त्रणमा

blog

फाइल तस्बिर

बुटवल समाचारदाता

बुटवल, वैशाख १० गते । बुटवलको खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतीश रूपाखेतीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गर्भपतनका क्रममा पाल्पाको बगनास गाउँपालिका–२ की २९ वर्षीय गीता पाण्डेको मृत्यु भएपछि बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले डा. खत्री र रूपाखेतीलाई अनुसन्धानका लागि प्रहरी कार्यालय बोलाएर मङ्गलबार साँझ नियन्त्रणमा लिइएको बताउनुभयो ।   

मृतकका पति प्रकाश पाण्डेले श्रीमती गीताको मृत्युमा गम्भीर लापर्बाही गरेको भन्दै डा. खत्री र रूपाखेतीसहित पाँच जनाविरुद्ध मङ्गलबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिनुभएको थियो । प्रहरीले जोनल फार्मेसीकी सन्ध्या बस्नेत र नीलम घर्तीमगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई यसअघि नै नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

मृतकका पति पाण्डेले श्रीमतीको निजी क्लिनिकको लापर्बाहीका कारण ज्यान गुमेको भन्दै छानबिन गरी कारबाही गर्न इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिनुभएको थियो । 

मृतकका परिवारले मङ्गलबार साँझ खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकमा तालाबन्दीसमेत गरेका थिए ।  बुटवल उपमहानगरपालिका–९, इँटाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित गर्भ परीक्षण गराउँदै आउनुभएकी गीताको गर्भपतनको औषधी सेवन तथा उपचारकै क्रममा मृत्यु भएको थियो । 

नियमित गर्भ परीक्षण गराइरहेको खत्री नर्सिङ होममा गत चैत २७ गते भिडियो एक्सरे गरेर हेर्दा बच्चाको स्वास्थ्य अवस्था असाधारण रहेको भनेर चिकित्सकले भनेपछि गीता गर्भपतन गराउने निर्णयमा पुग्नुभएको थियो । 

चिकित्सकको सल्लाह अनुसार वैशाख ५ गते श्रीमान्सहित बुटवल आउनुभएकी उहाँ खत्री नर्सिङ होममा नियमित उपचारका लागि पुग्नुभएको थियो । त्यहाँबाट थप उपचारका लागि उहाँलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो । जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भपतन गराउन गीतालाई औषधी खुवाएका थिए । 

त्यहाँ रहेका स्वास्थ्यकर्मीले गीतालाई वैशाख ५ गते शनिबार साँझ १० बजे एक खुराक र भोलिपल्ट बिहान ६ बजे अर्को खुराक औषधी खाएर आइतबार बिहान १० बजे फार्मेसी आउनका लागि भनेका थिए । 

जोनल फार्मेसीमा उपचार सफल नभएपछि सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँसमेत औषधी प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लगातार औषधी प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि गीतालाई अन्ततः लुम्बिनी सिटी अस्पताल पु¥याइएको थियो ।

अस्पताल पुगेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार तीन जना स्वास्थ्यकर्मी र दुई चिकित्सकमाथि अनुसन्धान जारी रहेको छ ।