• ४ चैत २०८२, बुधबार

होटेल र होस्टेलमा ग्यास अभाव

blog

काठमाडौँ, चैत ४ गते । बजारमा एलपी ग्यासको अभाव भएपछि साना होटेल, रेस्टुरेन्ट, चिया पसलसँगै होस्टेलमा समस्या पर्न थालेको छ । पश्चिम एसियामा भएको तनावका कारण ग्यासको आपूर्तिमा अवरोध हुन सक्ने आशङ्कामा बजारमा एक्कासि माग बढ्दा उपभोक्ताले एक महिनादेखि सहजै ग्यास पाउन सकेका छैनन् ।  

बुद्धनगरस्थित चिलगाडी रेस्टुरेन्टका सञ्चालक चक्र सिग्देलले ग्यास नपाएपछि रेस्टुरेन्टमा सेवा दिन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सकिएको एक सातामा पनि ग्यास पाइएको छैन । रेस्टुरेन्टमा ग्राहक आए पनि ग्यास नपाएर बन्द गर्ने अवस्था छ ।”

ग्यास अभाव हुन सक्ने आशङ्कामा बजारमा ग्यासको माग बढ्न जाँदा आपूर्तिमा समस्या भएको नेपाल आयल निगमले जनाएको छ । ग्यासको आपूर्ति नियमित भए पनि माग धेरै हुँदा अभाव देखिएको निगमको भनाइ छ । 

होटेल एसोसिएन अफ नेपाल (हान) का अध्यक्ष विनायक साहले ग्यास अभाव भएपछि होटेल व्यवसाय सञ्चालनमा समस्या आएको जानकारी दिनुभयो । सरकारले प्राथमिकताका आधारमा व्यवसाय नै बन्द नहुने गरी आपूर्ति व्यवस्था नियमित आवश्यक रहेको उहाँको भनाइ छ । होटेल, रेस्टुरेन्टमा ग्यासको खपत धेरै नहुने भएकाले आवश्यकताका आधारमा वितरण गर्नुपर्ने उहाँको भनाइ छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार मुलुकभर एक लाख ४२ हजार हस्पिटालिटी रहेका छन् । जसमा १० हजारभन्दा बढी होटेल छन् । हानका अनुसार मुलुकभर हस्पिटालिटी क्षेत्रमा १० लाख बढीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । 

नेपाल होस्टेल एसोसिएसनका अध्यक्ष भोजेन्द श्रेष्ठले डिलरबाट माग अनुसार ग्यास पाउन नसकेपछि  राइसकुकर, इन्डक्सन चुलो प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै अवस्था रहे भने होस्टेल बस्ने विद्यार्थीलाई खाना खुवाउन समस्या हुने उहाँको भनाइ छ । उपत्यकामा एक हजार एक सय होस्टेल सञ्चालन छन् । उपत्यकामा सञ्चालित होस्टेलमा ५० हजार विद्यार्थी बस्ने गरेको एसोसिएसनले जनाएको छ । 

बजारमा ग्यासको ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज बनाउन निगमले आधा तौलको सिलन्डर वितरण गरिरहेको छ । ग्यासको आयात नियमित भइरहे पनि माग बढ्दा उपभोक्ताले सहजै ढङ्गले ग्यास पाउन सकेका छैन । निगमका अनुसार बजारमा मासिक ४५ हजारदेखि ४६ हजार मेट्रिक टन ग्यासको माग रहेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा माग अनुसार ग्यासको आयात भइरहे पनि अभाव हुने आशङ्कामा उपभोक्ताले सञ्चित गर्न थालेपछि खपत बढी भएको जानकारी दिनुभयो । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले बजारमा आधा तौलको ग्यास सिलिन्डर बिक्री गर्न थालेपछि माग घट्दै गएको जानकारी दिनुभयो । आपूर्ति नियमित भइरहेको छ, डिलरले पनि दुई÷तीन दिनमा ग्यास पाइरहेकाले क्रमशः ग्यासको अभाव कम हुँदै जाने उहाँको भनाइ छ ।