काठमाडौँ, कात्तिक १० गते । विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको छठपर्व हिजोआज पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ । अहिले यस पर्वको महत्व यति धेरै बढ्यो कि गाउँदेखि सहर, तराईदेखि पहाड र विदेशसम्म पनि विधिपूर्वक छठ मनाइन्छ । कुनैबेला काठमाडौँमा बसोबास गर्ने तराईवासी छठ मनाउनकै लागि भनेर घर जाने चलन थियो तर अहिले यो चलन कम हुँदै गएको छ । अहिले काठमाडौँकै विभिन्न नदीको किनारमा छठघाट बनाई पूजा गर्ने चलन बढ्दो छ ।
सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने यस पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने रूपमा लिइन्छ । काठमाडौँका विभिन्न ठाउँका घाटमा सरसफाइ गरी आकर्षक रूपमा सजावट गरिएका छन् । रङ्गीन बत्ती र विभिन्न सजावटी सामग्रीले छठघाटको दृश्य झनै मनमोहक देखिन्छन् । छठपूजामा छठीमातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रूपमा बार्ने चलन छ ।
साहित्यकार तथा संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिका अनुसार छठ आत्म प्रकाशित गर्ने पर्व हो । आफैँलाई कर्मशीलतातर्फ डो¥याउने र आपसी मेलमिलापलाई प्रवर्धन गर्ने र मानवताको पाठ पढाउने पर्व हो । उहाँले अहिलेको समयमा पर्यावरणीय पक्ष यस पर्वको जुन बढी सान्दर्भिक पक्ष भएको उल्लेख गर्नुभयो । “छठमा पूजा गर्न भक्तजनका लागि पानी स्वच्छ सफा हुनु प¥यो जहाँ भक्तजनले पूजासम्म गर्न सकून,” उहाँले भन्नुभयो, “तर मान्छेहरूले यस्ता कुराको व्यवहारमा विचार नगरेको गुनासो उहाँको छ । उहाँका अनुसार बागमतीमा पनि हामी एक दिन पूजा गर्छौं र छठ सम्पन्न भएपछि हामी पूजाका सामग्री त्यहीँ फालेर फोहोर पारिरहेका हुन्छौँ । छठ भनेको तत्कालीन समयको एउटा कृषि मेला प्रदर्शन जस्तो पनि भएको उहाँले बताउनुभयो । कसले के के उत्पादन गरेका छन् भन्ने कुरालाई एकै ठाउँमा प्रदर्शन गर्ने पनि हो,” उहाँले थप्नुभयो, “यति सादगीको पर्वमा अब विस्तारै तडकभडकसँगै फेरिँदो देखिन थालेको छ ।”
जीवनदायी शक्ति सूर्य देवता र छठीमाताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रतका रूपमा मानिने कलाकार रवीन्द्र झाले बताउनुभयो । श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण भएको उहाँको भनाइ छ । उहाँका अनुसार सूर्य, मानवजाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धका लागि सकारात्मक भएकाले सूर्यको सम्मानस्वरूप छठको प्रारम्भ भएको हो । प्रकृतिप्रतिको श्रद्धाको प्रतीक मानिने पर्व हर्षोल्लासका साथ मनाइँदै छ । चार दिनसम्म चल्ने यस पर्वको तेस्रो मुख्य दिनलाई ‘सन्ध्या अर्घ’ वा ‘साँझको अर्घ’ भनिन्छ । जहाँ साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ । त्यस्तै चौथो दिन अर्थात् अन्तिम दिनलाई विहनिया अर्घ पारण भनिन्छ । चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ ।