• १८ पुस २०८२, शुक्रबार

भेटिन्छ विषादी हुँदैन कारबाही

blog

काठमाडौँ, पुस १८ गते । सरकारी निकायबिच समन्वय नहुँदा तरकारीमा प्रयोग हुने विषादी परीक्षणको प्रभावकारी परिणाम आउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाले केही निश्चित समूहका विषादी तरकारीमा भए वा नभएको परीक्षण गर्ने गरेको छ तर त्यसको नतिजा हेर्दा प्रभाव देखाउन नभएर दबाबमा गरिएको स्पष्ट बुझ्न सकिन्छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् ।

सो प्रयोगशाला अन्तर्गत काठमाडौँको कालीमाटी तरकारी बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले देशभरबाट आउने तरकारीमध्ये केहीको नमुना लिएर अर्गानोफस्फेट र कार्बामेन्ट दुई समूहका विषादी तरकारीमा प्रयोग भए/नभएको परीक्षण गर्दै आएको छ । परीक्षणका लागि लिएका नमुनामध्ये केहीमा खान अयोग्य वा उच्च विषादी भेटियो भने तरकारी नष्ट गर्ने त छँदै छ । 

त्यस्तो तरकारी कहाँ उत्पादन भएर कुन बजार, पसल र उपभोक्तासम्म आएकोबारे स्पष्ट जानकारी दिने जिम्मेवारी कालीमाटीका हकमा कृषि मन्त्रालय अन्तर्गतको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको हो । समितिका कार्यकारी निर्देशक प्रद्युम्नराज पाण्डेले कालीमाटी बजारमा भित्रिएका तरकारीमा विषादी परीक्षण गर्दा उच्च देखियो भने तुरुन्तै तरकारी नष्ट गर्ने र पसलेमार्फत तरकारी उत्पादक किसानको विवरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित कृषि विकास कार्यालयलाई पत्राचार गर्ने गरेको बताउनुभयो । 

कृषि कार्यालयमा पत्र पठाउँदा उपलब्ध भएसम्म किसानको नाम, फार्मको नाम र सम्पर्क नम्बरसहित परीक्षण गर्दा भेटिएको विषादीको मात्रा उल्लेख गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पत्रमार्फत आग्रह गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । समितिका अनुसार कालीमाटीमा पुस ८ गते काठमाडौँको नागार्जुन नगरपालिका र ११ गते काठमाडौँकै चन्द्रागिरि नगरपालिकाबाट आएको रायोको सागमा उच्च विषादी भेटिएपछि सम्बन्धित पालिकाका किसानलाई आवश्यक कारबाहीका लागि ललितपुर कृषि विकास कार्यालयमा पत्राचार गरिएको छ । 

ललितपुर कृषि विकास कार्यालयले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिबाट पछिल्लो पटक काठमाडौँको दुई स्थानमा उत्पादित रायोको सागमा उच्च विषादी भेटिएको जानकारीसहितको पत्र प्राप्त चाहिँ भएको तर त्यसबारेमा कुनै कदम नचालेको जनाएको छ । 

सो कार्यालयका सूचना अधिकारी क्रान्ति राईले कालीमाटी समितिबाट तरकारीमा उच्च विषादी भेटिएको भनेर आएको पत्रको कुनै कारबाही अगाडि नबढेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “समितिले पठाएको पत्रका आधारमा मात्रै सम्बन्धित किसानको फार्म ट्र्याकिङ गरेर खोज्ने काम सहज देखिएन, एउटाको नाम पठाएको हुन्छ, खोज्दा १० जनासम्मको नाम जुध्छ । त्यसकारण पछिल्लो समयमा कार्यालयले पत्रको कारबाहीमा पछाडि लाग्न छोडेको छ ।” 

यस्तै धादिङ कृषि विकास कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले तरकारीमा उच्च विषादी भेटिएपछि आउने पत्रका आधारमा कारबाही गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँका अनुसार धादिङमा उत्पादन भएको तरकारी एउटा सहकारीमा सङ्कलन भएर कालीमाटी बजारमा जान्छ भने अर्को किसानबाट सिधै कालीमाटी बजारका व्यापारीसम्म पुग्छ । किसानबाट सिधै व्यापारीसम्म पुग्ने तरकारीमा विषादी भेटियो भने पहिचान गरेर सचेत गराउने गरेको तर सहकारीमार्फत सङ्कलन भएर जाने तरकारी कसको भन्ने पत्ता लगाउनै गाह्रो हुने भएकाले हेरेर मात्रै छोड्ने गरेको सूचना अधिकारी जयरामले स्वीकार गर्नुभयो ।

व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगबारे चेतना कम नभएको दाबी गर्दै उहाँले भन्नुभयो, “व्यावसायिक किसानलाई तरकारीमा कुन र कति विषादी प्रयोग गर्ने ? विषादी प्रयोग गरेको कति दिनमा तरकारी टिपेर बजार पठाउने ? भन्ने सबै जानकारी छ तर उहाँहरूको छोटो समयमा धेरै कमाउने महत्वाकाङ्क्षा राख्नुहुन्छ अनि यस्ता समस्या आउँछन् ।”  केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतका प्रयोगशालाले विषादी अवशेष द्रुत विश्लेषण एकाइ (आरबिपिआर) विधिबाट कालीमाटीसहित देशका १२ स्थानमा तरकारीमा कार्बामेन्ट र अर्गानोफस्फेट समूहका विषादी परीक्षण गर्छ । सो प्रयोगशालाका अनुसार चालु आव २०८२/८३ को मङ्सिरसम्म देशभरका १२ वटा प्रयोगशालामार्फत १३ हजार ९३२ नमुना परीक्षण गराउँदा ८२ वटा खान अयोग्य वा उच्च विषादी भेटिएको छ । सो अवधिमा काठमाडौँको प्रयोगशालाले एक हजार ९७२ नमुना परीक्षण गर्दा २० वटामा उच्च विषादी भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा कास्कीमा एक हजार ३१० नमुना परीक्षण गर्दा २१ वटामा खान नहुने विषादी भेटिएको छ भने दुई वटा केही दिन पर्खेर पुनः परीक्षण गरेर मात्रै खानयोग्य भए खाने मिल्ने भनिएको छ । 

यस्तै नवलपरासी (कावासोती) मा रहेको एकाइमा ७६४ नमुना परीक्षण गरिएकामा १२ वटामा खान नहुने विषादी भेटिएको छ भने १० वटामा केही दिन पर्खेर पुनः परीक्षण गर्दा योग्य भए खान मिल्ने विषादीको मात्रा भेटिएको छ । 

त्यसै गरी कैलालीको अत्तरियामा एक हजार २९८ वटा परीक्षण गर्दा नौ वटामा उच्च विषादी भेटिएको छ । बाँकेको नेपालगन्जमा पाँच, धनुषाको ढल्केबरमा चार, झापाको बिर्तामोडमा तीन, सुर्खेतको वीरेन्द्रनगरमा दुई र सुनसरीको धरान, सर्लाहीको लालबन्दी, सिन्धुलीको सिन्धुलीमाडी, रुपन्देहीको बुटवलको प्रयोगशालामा एक/एक नमुनामा उच्च विषादी भेटिएको केन्द्रीय प्रयोगशालाले जनाएको छ ।