• १८ पुस २०८२, शुक्रबार

महामन्त्रीद्वयको असन्तुष्टि

कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप

blog

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत

काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो। 

यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेपछि कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनुभयो। 

उहाँकाअनुसार बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पास गरेको हो। 

उहाँले भन्नुभयो, ‘बैठकले पार्टीको केन्द्रीय समितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेकाे छ। पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ। बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गरेको छ। पार्टीको क्रियाशील सदस्यताका टुंग्याउन सम्भव नहुने र आम निर्वाचन फागुन २१ मा हुने हुँदा कार्यतालिका परिमार्जन भएको हो। यसमा केही साथीको फरक मत आएको छ। उहाँहरुले आफ्नो कुरा आफैं राख्नुहोला।’

पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औँ महाधिवेशनका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ।