• २१ वैशाख २०८३, सोमबार

पुलिस महिला गोल्ड कप च्याम्पियन

blog

आइतबार सकिएको प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लब । तस्बिरः गोरखापत्र

लेखनाथ समाचारदाता

लेखनाथ, वैशाख २० गते । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा १० खेलाडीमा सीमित बनेको त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस विजेता बनेको हो ।

पुलिस उपाधिसँगै पाँच लाख हाता पार्दा उपविजेता आर्मीले तीन लाख पाएको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफकै २७ मिनेटमा १० खेलाडीमा सीमित भएको आर्मीले पुलिसलाई गोलरहित बराबरीमै रोकेको थियो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछि रातो कार्ड पाउनुभएको थियो । 

आर्मीले ३७ औं मिनेटमा पाएको अवसरमा पुलिसकी समीक्षा घिमिरे बाधक बन्नुहयो । खेलको ६३ औं मिनेटमा रेखा पौडेलको प्रहारलाई आर्मीकी गोलरक्षक कोपिला खड्काले बचाउ गर्नुभयो । त्यसपछि ६९ औं मिनेटमा पौडेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । आर्मीले बारम्बार अवसर पाएको भए पनि गोलमा बदल्न सकेन ।

खेलमा नेपाल पुलिसकी समीक्षा घिमिरे प्लेयर अफ दि म्याच बन्नुभयो । विधागततर्फ पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी बनी ३० हजार रुपैयाँ पाउनुभयो । उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ, सर्वाधिक गोलकर्ता रेखा पौडेल, अनुसासित टिम आरएस पोखरा बने । तीन दिनसम्म चलेको प्रतियोगितामा चार टिम सहभागी थिए ।