• ५ पुस २०८२, शनिबार

गजल : विमर्शको बलियो विधा

blog

गायक देवेन्द्र केसी ‘देबु’ गजल साँझमा प्रस्तुति दिनुहुँदै ।

काठमाडौँ, पुस ५ गते । समयको परिवर्तनसँगै नेपाली साहित्यमा गजल विधाले आफ्नो स्वरूप र प्रभावलाई व्यापक बनाएको छ । मान्छेका चाहना र अभिव्यक्ति दिने शैलीमा आएको बदलावले गजललाई दरबारिया शृङ्गारिकताबाट उठाएर आममानिसको सुखदुःखको संवाहक बनाएको छ । विशेष गरी युवा पुस्तामा यो विधा सबैभन्दा बढी लोकप्रिय छ । छोटो र छरितो संरचनामा गहिरो भाव व्यक्त गर्न सकिने भएकाले पनि गजलकारको ठुलो जमात तयार भएको हो । हिजो प्रेम र विछोडमा मात्र केन्द्रित गजल आज राजनीति, समाज, दर्शन र समसामयिक विकृतिमाथि प्रहार गर्ने सशक्त माध्यम बनेको छ ।

लेखनको सङ्ख्यात्मक वृद्धिसँगै गजलमाथि समालोचना र विमर्शको लहर पनि चलेको छ । धेरै लेखिनु सकारात्मक पक्ष भए पनि यसको शिल्प, व्याकरण र ‘गजलियता’ माथि प्रश्नहरू उठ्ने गरेका छन् । समालोचकले यसको गुणस्तर र मानकका बारेमा गर्ने बहसले गजललाई अझ परिष्कृत र तिखार्ने काम गरेको छ । निष्कर्षमा नेपाली गजल सङ्ख्या र गुण दुवै दृष्टिले एउटा नयाँ उचाइतर्फ लम्किरहेको छ ।

नेपाली गजलको इतिहास धेरै लामो नभए पनि यसको सुरुवात निकै ऊर्जाशील देखिन्छ । विसं १९४१ तिर युवाकवि मोतीराम भट्टले माध्यमिक कालको सूत्रपातसँगै नेपाली साहित्यमा गजलको बिजारोपण गरे । उनले आफू मात्र गजल लेखेनन्, ‘मोतीमण्डली’ खडा गरेर एउटा समूहलाई नै गजल लेखनमा प्रेरित गरे । मोतीरामको उदयसँगै नेपाली गजलमा शृङ्गारिक धारा सशक्त रूपमा स्थापित भयो, जहाँ प्रेम र सौन्दर्यका चर्चाले प्रधानता पाए ।

मोतीरामपछि नरदेव पाण्डे, शम्भुप्रसाद ढुङ्गेल र लक्ष्मीदत्त पन्त जस्ता स्रष्टाले यो विरासतलाई अगाडि बढाए । उनीहरूले गजलको शिल्प र लयलाई परिष्कृत गर्ने काम गरे । यसै क्रममा भीमनिधि तिवारी र उपेन्द्रबहादुर ‘जिगर’ ले पनि नेपाली गजलको विकासमा उदाहरणीय योगदान पु¥याए । तिवारीले गजललाई केही हदसम्म सामाजिक र सरल बनाउने प्रयास गरे । यद्यपि यो प्रारम्भिक स्वर्ण युगपछि केही समय नेपाली गजलको गति सुस्त रह्यो र अन्य विधाको तुलनामा यसको प्रभाव अलि कम देखियो तर पनि यिनै अग्रजले खनेको जगले नै आधुनिक नेपाली गजलको मार्ग प्रशस्त गरेको हो ।

गजलकार एवं प्राध्यापक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ का अनुसार नेपाली साहित्यमा गजल विधा अहिले एउटा विशिष्ट र महत्वपूर्ण विन्दुमा आइपुगेको छ । वर्तमान नेपाली गजल लेखनमा मुख्यतः दुई वटा धार स्पष्ट रूपमा देखा पर्छन् एउटा ‘बहर’ (शास्त्रीय नियम) मा लेखिने गजल र अर्को ‘बेबहर’ (स्वतन्त्र लय) मा लेखिने गजल । प्राविधिक रूपमा गजल बहरमा लेखिनु नै यसको व्याकरण र स्पष्ट पहिचान भएको उहाँको भनाइ छ तर नेपाली गजलको इतिहासलाई नियाल्दा पुनर्जागरण कालका हस्तीहरू ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी र ललिजन रावल, रवि प्रजञ्जललगायतले गजललाई पुनर्जीवित गर्ने क्रममा शास्त्रीय बहरलाई भन्दा नेपाली मौलिक लयलाई बढी प्राथमिकता दिएको पाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूले गजलको संरचना र मर्मलाई जोगाउँदै यसलाई नेपाली जनजिब्रो सुहाउँदो बनाए । उहाँका अनुसार ‘बहरमा गजल लेख्नु अलिकति प्राविधिक र जटिल कार्य हो । धेरै जसो नयाँ लेखकमा बहर र बेबहरबिचको भिन्नताबारे पर्याप्त जानकारी नभएको देखिन्छ ।” कतिपयमा सामान्य लय र काफिया मिलेपछि मात्रै गजल बन्छ, उहाँले भन्नुभयो । यद्यपि यस्ता भिन्न धार र बुझाइ भए पनि नेपाली गजल अहिले एउटा परिष्कृत स्वरूप ग्रहण गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

अर्का गजलकार प्रदीप रोदनका अनुसार नेपाली गजलकार समयको गतिसँगै अगाडि बढिरहेका छन् र यो विधामा कुनै सुस्तता आएको छैन । पछिल्लो समय ‘जेनजी’ आन्दोलन र सामाजिक परिवर्तनका कारण औपचारिक कार्यक्रममा केही कमी देखिए पनि गजलको सिर्जनात्मक पक्ष उत्तिकै सक्रिय रहेको उहाँको भनाइ थियो । उहाँ थप्नुहुन्छ, “कुनै पनि कर्म वा कलाबाट बाँच्नै सकिँदैन भन्ने हुँदैन, मुख्य कुरा आफ्नो विधाप्रति कत्तिको समर्पण छ भन्ने हो ।” गजल, गायन र लेखनलाई गम्भीरताका साथ लिने हो भने यसैबाट सम्मानजनक जीविकोपार्जन गर्न सम्भव भएको उहाँले बताउनुभयो ।  

गजलकार विमला दाहालका अनुसार विगतको तुलनामा नेपाली गजलको स्तर अहिले धेरै माथि पुगिसकेको छ । अहिले केही स्रष्टा व्यावसायिक रूपमै गजलमा लागिसकेका छन् भने धेरै जसोले नाम र आत्मसन्तुष्टिका लागि लेखिरहेका छन् । ‘जेनजी’ आन्दोलन र त्यसपछिको अन्योलपूर्ण अवस्थाले गर्दा गजलकारमा केही सुस्तता देखिएको उहाँको बुझाइ छ । जीविकोपार्जनका सन्दर्भमा उहाँ भन्नुहुन्छ, “यदि स्तरीय गजल लेख्न सकियो भने यसबाट सहजै जीवन चलाउन सकिन्छ ।” यद्यपि साहित्यकारमा गजलबाटै विलासी जीवन बिताउने चाहनाभन्दा पनि मर्यादित लेखन र बाँच्ने आधारको खोजी बढी हुने उहाँले बताउनुभयो । 

नेपाली गजलको ऐतिहासिक विकास क्रमलाई हेर्दा, मोतीराम भट्टले बालेको शृङ्गारिक दियो केही समय मधुरो भए पनि विसं २०३५÷३६ सालतिर ज्ञानुवाकर पौडेलको आगमनसँगै यसले नयाँ जीवन पायो । सुस्ताएको गजल विधालाई पुनर्जीवित गर्ने उहाँको योगदानकै कारण उहाँलाई नेपाली गजलको ‘पुनर्जागरणकर्ता’ का रूपमा लिइन्छ । पौडेलको पदचापलाई पछ्याउँदै ललिजन रावल, रवि प्राञ्जल, बुँद राना, डा. कृष्णहरि बराल जस्ता सशक्त गजलकारले यस विधालाई थप परिष्कृत र आधुनिक बनाएका छन् ।

आजको समयमा गजल केवल भावुकता पोख्ने माध्यम मात्र रहेन, बरु यो एउटा व्यावसायिक र सामाजिक विमर्शको बलियो विधा बनेको छ । यद्यपि ‘जेनजी’ आन्दोलन र सामाजिक उतारचढावले लेखनमा केही सुस्तता ल्याएको देखिए पनि नेपाली गजलको भविष्य उज्ज्वल छ । हजारौँको सङ्ख्यामा रहेका युवा गजलकारको सक्रियता र समालोचकीय दृष्टिकोणले यसलाई अझ स्तरीय बनाउँदै लैजाने निश्चित छ ।