धनगढी समाचारदाता
धनगढी, फागुन १३ गते । कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द हुने भएको हो । फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन भएको दिन फागुन २१ गते राति १२ बजेसम्म सबै सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
कैलालीमा नेपाल–भारत खुला सिमाना १०१ किलोमिटर रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण सीमानाका सिल रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
यसै गरी फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म अत्यावश्यक र अनुमति प्राप्तबाहेक सबै सवारीसाधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युतीय सेवा, कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधन भने चल्न पाउने प्रशासनले जानकारी दिएको छ ।
बैतडी समाचारदाताका अनुसार आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षालाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको झुलाघाट नाकाको पुल र महाकाली नदीमा चल्ने छ ठाउँका डुङ्गा घाट तीन दिन बन्द गरिने भएका छन् ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको झुलाघाट नाका र डुङ्गा सञ्चालन कार्य फागुन १८ गते राति १२: बजेदेखि फागुन २१ गते राति १२: बजेसम्म बन्द गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने उहाँले बताउनुभयो ।
जिल्लाको दशरथचन्द नगरपालिका–६, शेरादेखि पञ्चेश्वर गाउँपालिका–४, विनायक हुँदै शिवनाथ गाउँपालिकासम्म ६५ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । नेपाल–भारत आवतजावत गर्न दशरथचन्द नगरपालिका–८, झुलाघाट नाकामा झोलुङ्गे पुल छ भने पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा डुङ्गा सञ्चालन हुँदै आएको छ । त्यहाँ महाकाली नदी तर्न गाउँपालिकाले ठेक्कामार्फत डुङ्गा सञ्चालन गर्दै आइरहेका छन् ।
निर्वाचन सुरक्षालाई ध्यान दिएर सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बिओपीमार्फत सुरक्षा निगरानी बढाएको उहाँले जानकारी दिनुभयो ।