राजन रावत
हुम्ला, वैशाख ११ गते । हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानअन्तर्गत सञ्चालन गरिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्य ढिलाइका कारण अझै जारी रहेको छ । स्वास्थ्य सेवा कार्यालयमा भिटामिन ए र जुकाको औषधी ढिलो गरी पुगेको तथा त्यहाँबाट गाउँपालिकासम्म पुर्याउन समय लागेको कारण अभियान लम्बिएको हो ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका खोप केन्द्रबाहेक अन्य पाँच वटा गाउँपालिकामा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्य अझै जारी रहेको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति पाल्जोर लामाले बताउनुभयो । उहाँका अनुसार नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका दुर्गम खोप केन्द्रहरूमा अभियान सञ्चालन भइरहेको छ ।
प्रदेशबाट औषधी ढिलो आइपुगेका कारण कार्यक्रम ढिलो सुरु भएको उहाँले बताउनुभयो । यस पटक छ महिनादेखि पाँच वर्षसम्मका पाँच हजार ३३३ बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य रहेको छ भने एकदेखि पाँच वर्ष उमेर समूहका चार हजार ८१२ बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ ।
यस अभियानका क्रममा छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा बृहत् पोषण लेखाजोखा पनि भइरहेको छ ।