सर्लाही समाचारदाता
सर्लाही, वैशाख ११ गते । सर्लाही सदरमुकाम मलङ्गवामा सञ्चालनमा रहेका अस्पताल बन्द गराउन सुरु गरिएको छ । सो अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको आरोप लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, मलङ्गवा नगरपालिकालगायतका सरोकारवालाको टोलीले बिहीबारदेखि अस्पतालको अनुगमन सुरु गरी अवैध रूपमा सञ्चालन भएको भन्दै बन्द गराउन थालेको हो । अनुगमन टोली आएको सुइँको पाएपछि कतिपय अस्पताल सञ्चालक अस्पताल नै बन्द गरेर भागेको बताइएको छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले अवैध अस्पतालको बिगबिगी बढेको गुनासो आएपछि बिहीबार बिहानदेखि अनुगमन सुरु गरिएको जानकारी दिनुभयो । यसअघि २०८१ फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मलङ्गवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराउनुभएको थियो ।
त्यसबेला मलङ्गवामा मात्र १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड नपुगेका समेत गरेर १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो । ती अस्पताल अहिले खुलेयाम सञ्चालनमा रहेका छन् । आफूहरूले बिहीबारदेखि अनुगमन सुरु गर्दा मापदण्ड नपुगेका अस्पताल र कुनै दर्ता नै नभएका समेतलाई बन्द गराई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । अवैध रूपमा सञ्चालित क्लिनिक तथा अस्पतालले बिरामीलाई मनपरी औषधोपचार गर्ने, चर्को शुल्क असुल्ने, अदक्ष स्वास्थ्यकर्मी राखेर बिरामीको उपचार गर्ने गरेको गुनासो आउने गरेको छ ।
तत्कालीन मुख्यमन्त्री सिंहले सर्लाहीको मलङ्गवा, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बरहथवालगायतका स्थानमा बन्द गराएका त्यस्ता अस्पताल हाल खुलेयाम सञ्चालन भइरहेका छन् । अनुगमनको प्रमुख जिम्मेवारी पाएका स्थानीय तहले यसतर्फ ध्यान नदिएको गुनासो भइरहेको छ ।
केही महिनाअघि मात्र लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रूपमा सञ्चालित एक आयुर्वेद औषधालयमा उपचारका लागि ल्याइएकी एक किशोरीको मृत्यु भएको थियो । पछिल्लो समय नवलपुर क्षेत्र अवैध पोलिक्लिनिक र अस्पतालको ‘हब’ नै बनेको स्थानीयको गुनासो छ ।
गत वर्ष अस्पताल अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग हातपात भएपछि मुद्दा झेल्नु परेको भन्दै लालबन्दी नगरपालिकाका जनप्रतिनिधि अस्पतालको अनुगमनका लागि हच्किएका छन् । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले गत वर्षको घटनापछि जनप्रतिनिधि डराएकाले स्वास्थ्य संस्थाको अनुगमन गर्न नसकिएको स्वीकार गर्नुभएको छ ।
स्वास्थ्य शाखा प्रमुख मिकरानीले अवैध अस्पताललाई बारम्बार पत्र काटेर तथा अनुगमनकै व्रmममा पनि तत्काल बन्द गर्न निर्देशन दिए पनि अटेरी गर्ने परिपाटी रहेको बताउनुभएको छ ।