हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ११ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालीगण्डकी नदी किनारमा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्ति कुँद्ने कार्य तीव्र रूपमा भइरहेको छ । मूर्तिकारहरू शिलामा ढुंगा काट्ने र स्केच बनाउने कार्यमा तल्लीन छन् ।
कालीगण्डकी नदीमा मात्र पाइने हिन्दू धर्मावलम्बीका लागि पवित्र शिला शालिग्रामबाट भगवानका मूर्ति बनाउन सदरमुकाम जोमसोम बजार नजिकैको चौर क्षेत्रमा २१ जना अनुभवी मूर्तिकारहरू छिनो, हथौडा, ग्राइन्डरजस्ता औजार प्रयोग गरी मूर्ति कुँदिरहेका छन् । पर्यटक तथा स्थानीयबासीले उक्त कार्यलाई चासोपूर्वक अवलोकन गरिरहेका छन् ।
घरपझोङ गाउँपालिका र ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा १५ दिने ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला’ सञ्चालन भइरहेको छ । कार्यशालामार्फत स्थानीयलाई पनि मूर्तिकला सिक्ने अवसर प्रदान गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष लालचनले भन्नुभयो, “भगवानसँगै हिमाली भेगको जैविक विविधता झल्काउने जनावरका मूर्तिहरू पनि निर्माण गरिनेछ । यसले धार्मिक पर्यटनको बसाइ अवधि बढाउन मद्दत गर्नेछ, त्यसका लागि थप नयाँ योजना बनाइरहेका छौँ ।”
उहाँका अनुसार कार्यशालामा मुस्ताङका धार्मिक तीर्थस्थल मुक्तिनाथ, दामोदरकुण्डलगायतमा पूजा गरिने गणेश, शिव, पार्वती, विष्णु, बुद्धलगायतका मूर्तिहरूलाई प्राथमिकता दिइएको छ । साथै, हिमाली क्षेत्रमा पाइने हिउँचितुवा, याक, नाकलगायतका वन्य तथा घरेलु जनावरका मूर्तिहरू पनि निर्माण गरिनेछ ।
शालिग्रामको महिमा, सभ्यता संरक्षण र यसको लोप रोक्न यो पार्कले महत्त्वपूर्ण योगदान दिने अध्यक्ष लालचनले बताउनुभयो ।
मुख्य मूर्तिकारलाई १५ जना सहयोगीले साथ दिइरहेका छन् । कार्यशाला आगामी वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यशालामा ओम खत्री, गोविन्द चौधरी, नरेन्द्रप्रसाद भण्डारी, सरोज श्रेष्ठ, राजु पिठाकोटे, रामचन्द्र पण्डित, पुजन खतिवडा, नुर्बु लामा, मानबहादुर बल, बुद्ध थारु, राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु, करुणा श्रेष्ठ, देवेन्द्रप्रसाद पाण्डे, हरिबहादुर थापा बयम्बु, सुस्मिता मोक्तन, पारस श्रेष्ठ, अमनारी तामाङ र ओमप्रकाश सिंह सहभागी छन् ।
प्रतिष्ठानबाट नेतृत्व गरिरहेका मूर्तिकार दिनेश्वर महतोले भन्नुभयो, “हिमाली जिल्लामा काम गर्दा नयाँ अनुभव मिलिरहेको छ । कालीगण्डकीको कडा ढुंगा भएकाले मूर्ति कुँद्न समय लागे पनि अन्तिम परिणाम सुन्दर आउनेछ ।”
सदरमुकाम जोमसोममा निर्माण हुने धार्मिक तथा जैविक पार्क पर्यटकका लागि नयाँ आकर्षण हुने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो ।
सडक सञ्जालले छोट्याएको पर्यटक बसाइलाई यो नयाँ पार्कले विस्तार गर्ने अपेक्षा गरिएको छ । दामोदरकुण्ड आसपासको क्षेत्रलाई शालिग्रामको उद्गमस्थल मानिन्छ ।
पञ्चतत्वले बनेको मानव शरीर संरक्षणका लागि गणेश, शिव, विष्णु, देवी र सूर्यस्वरूप पूजा गरिने भएकाले पार्कसँगै कालीगण्डकी नदीमा स्नानस्थल समेत विकास गरी धार्मिक पर्यटकलाई सहज बनाउने घरपझोङ गाउँपालिकाले जनाएको छ । मुस्ताङमा बजार सौन्दर्यीकरण तथा पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ ।
