सिराज खान
नेपालगन्ज, वैशाख ११ गते । नेपाल–भारत सीमा नाकामा पछिल्लो समय कडा चेकजाँच र गस्ती बढाएसँगै प्रहरीले बाँकेमा एक ठुला लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुराबाट प्रहरीले नक्कली पेस्तोल, सक्कली गोली र २७५ ग्राम ब्राउनसुगरसहित एक कारोबारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेको खजुरा–६ स्थित प्रतिक्षालय क्षेत्रबाट २७५ ग्राम ब्राउनसुगर, स्टिलबाट बनेको नक्कली पेस्तोल र दुई राउन्ड सक्कली गोलीसहित २६ वर्षीय अजिजुल रहमान खाँलाई पक्राउ गरिएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय धनौली र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउसँगै लागुऔषध तस्करहरूमा त्रास फैलिएको प्रहरी प्रमुख जिसीले बताउनुभयो ।
प्रहरीका अनुसार खाँ बाँके खजुरा गाउँपालिका–५ का बासिन्दा हुन् । उनको साथबाट नक्कली पेस्तोल, दुई राउन्ड गोली, ७ थान मोबाइल, एउटा मोटरसाइकल, दुई वटा गाडी, ५१ लाख रुपियाँ उल्लेख भएका बैंकका केही चेकबुक, डिजिटल तराजु र ७० हजार ९५० रुपियाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
स्थानीयका अनुसार पक्राउ परेका खाँ लामो समयदेखि खजुराको प्रतिक्षालय र गोदहाना क्षेत्रमा बसेर नेपालगन्ज तथा आसपासका क्षेत्रमा लागुऔषध सेवनकर्तालाई बिक्री–वितरण गर्दै आएका थिए ।
गोप्य सूचनाका आधारमा कारोबारस्थलमै पुगेर प्रहरीले उनलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रमुख जिसीले बताउनुभयो ।
पक्राउ परेका खाँलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले कडाइ गरेसँगै लागुऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवनमा संलग्न धेरै जना पक्राउ परेका छन् ।