वासिङ्टन, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको जनाएको छ ।
बुधबार राति ट्रम्पले सामाजिक सञ्जालमा साझा गरेको पोष्टमा अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थामाथि आलोचना गरिएको थियो । सो पोष्टमा विशेष गरी भारतीय आप्रवासीलाई लक्षित गर्दै उनीहरूले अमेरिकी मूल निवासीलाई रोजगारी नदिने र अङ्ग्रेजी भाषामा दक्षता नभएको आरोप लगाइएको थियो ।
त्यस्तै, भारतलाई ‘नरक’ भन्दै गरिएको टिप्पणीले थप विवाद निम्त्याएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ती अभिव्यक्तिलाई ‘स्पष्टरूपमा अज्ञात, अनुपयुक्त र खराब स्वादमा’ भएको प्रतिक्रिया दिनुभयो । उहाँले यस्ता भनाइले भारत-अमेरिका सम्बन्धको वास्तविक स्वरूप झल्काउन नसक्ने बताउँदै दुई देशबिचको सम्बन्ध दीर्घकालीन आपसी सम्मान र साझा हितमा आधारित रहेको उल्लेख गर्नुभयो ।
यसैबिच, भारतीय मूलका अमेरिकी डेमोक्रेट सांसद अमी बेराले पनि ट्रम्पको टिप्पणीको आलोचना गर्दै यसलाई ‘आपत्तिजनक, अज्ञानी र पदको गरिमाभन्दा तल’ रहेको बताउनुभयो । उहाँले ट्रम्पले आप्रवासी परिवारले भोग्ने सङ्घर्ष कहिल्यै अनुभव नगरेको टिप्पणी गर्नुभयो । हिन्दू अमेरिकन फाउन्डेसनले समेत उक्त पोष्टप्रति आपत्ति जनाउँदै यसलाई ‘घृणित र जातिवादी अभिव्यक्ति’ को संज्ञा दिएको छ ।
संस्थाले यस्तो अभिव्यक्तिले समाजमा विद्यमान जेनोफोबिया र जातीय विभाजनलाई अझ बढावा दिने चेतावनी दिएको छ । अमेरिकामा आप्रवासन नीतिमा कडाइ ल्याउने आफ्नो प्रमुख एजेन्डा अन्तर्गत ट्रम्पले विशेष गरी भारतीय प्राविधिक कामदारले प्रयोग गर्ने भिसा प्रणालीलाई लक्षित गर्दै आउनुभएको छ । यसले दुई देशबिचको सम्बन्धमा थप जटिलता थपेको छ । यसअघि पनि भारत-पाकिस्तानबिचको तनावका क्रममा आफ्नो मध्यस्थतालाई पर्याप्त महत्त्व नदिएको भन्दै ट्रम्पले भारतप्रति असन्तुष्टि जनाउँदै व्यापारिक क्षेत्रमा समेत दबाब सिर्जना गर्न उच्च शुल्क लगाउनुभएको थियो । यसले दुई देशबिचको कूटनीतिक सम्बन्धमा चिसोपना ल्याएको विश्लेषण गरिएको छ ।
रोचक पक्ष के छ भने, विशेष गरी चीनसँगको रणनीतिक प्रतिस्पर्धालाई ध्यानमा राख्दै विगतका अमेरिकी प्रशासनले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतसँग सुदृढ सम्बन्ध कायम राख्न निरन्तर प्रयास गर्दै आएका थिए । तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले सो दीर्घकालीन रणनीतिमा प्रश्न उठाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला यस्तो विवाद सतहमा आउनु अर्थपूर्ण मानिएको छ । कूटनीतिक वृत्तमा यसलाई दुई देशबिचको सम्बन्ध सुधार्ने प्रयासका लागि चुनौतीका रूपमा हेरिएको छ । रासस/एएफपी