• ११ वैशाख २०८३, शुक्रबार

खानेपानी आयोजनामा प्रयोग भएको ट्रान्सफर्मर चोरी

blog

चोरले तामाका तार निकालेर छोडेको ट्रान्सफर्मरको बाहिरी भाग । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, वैशाख ११ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर बिहीबार राति चोरी भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष राममणि कुशवाहाले बताउनुभयो ।

उहाँका अनुसार चोरी गर्नेले पोलमा जडान गरिएको ट्रान्सफर्मर भुईँमा झारेर त्यसभित्र रहेका तामाका तार र तेल निकालेर लगेका छन् । ट्रान्सफर्मरको बाँकी भाग भने घटनास्थलमै छोडिएको अवस्थामा फेला परेको छ ।

उहाँले भन्नुभयो, ‘‘खानेपानी आयोजना सम्पन्न हुने अन्तिम तयारीमा रहेका बेला यस्तो घटना हुँदा काम प्रभावित भएको छ ।’’ ट्रान्सफर्मर नै नभएपछि मोटर सञ्चालन गर्न सकिँदैन जसले गर्दा योजना सञ्चालनमा थप चुनौती बढेको छ । ट्रान्सफर्मर चोरीका घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराएको अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।

बटेश्वर प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बटेश्वर प्रहरी चौकीले जानकारी दिएको छ ।