• ११ वैशाख २०८३, शुक्रबार

विराटनगरको सौन्दर्य फर्काउन सडकपेटी व्यवस्थापनमा जुट्यो महानगर

blog

विराटनगरको मेनरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै विराटनगर महानगरपालिकाको टोली । तस्बिर: शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, वैशाख ११ गते । विराटनगर महानगरपालिकाले नगरको सौन्दर्य अभिवृद्धि गर्न र सर्वसाधारणको आवागमनलाई सहज तुल्याउन फुटपाथ व्यवस्थापन अभियान सुरु गरेको छ । सडकपेटीमा अनधिकृत रूपमा राखिएका सामग्री हटाउँदै महानगरले नगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियान अगाडि बढाएको हो ।

महानगरपालिकाले शुक्रबार बिहानदेखि बजार क्षेत्रका मुख्य सडक र पैदलयात्री हिँड्ने पेटीलाई खुला गराउने कार्य सुरु गरेको छ । यसअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई आफ्ना सामग्री हटाउन अनुरोध गरेको महानगरले निर्धारित समयसीमा सकिएसँगै स्थलगत कारबाही अघि बढाएको हो ।

अभियानको नेतृत्व गर्दै महानगरका उपप्रमुख शिल्पा निराला कार्की सहितको टोली आफैँ बजार क्षेत्रमा खटिएर अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलको सटर बाहिर व्यापारिक सामान नराख्न, सडकपेटीमा निर्माण सामग्री नथुपार्न र सवारी साधन मर्मत केन्द्रका सामानले बाटो अवरोध नगर्न व्यवसायीलाई निर्देशन दिइएको छ । साथै, मापदण्ड विपरीत सञ्चालनमा रहेका कवाडी व्यवसायलाई समेत कडाइका साथ व्यवस्थापन गर्ने महानगरको योजना छ ।

सङ्घीय राजधानी काठमाडौँमा सुरु भएको फुटपाथ व्यवस्थापनको सकारात्मक प्रभाव स्वरूप विराटनगरले पनि यस कार्यलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । विगतमा पनि यस्ता प्रयासहरू भएका थिए तर नियमित अनुगमनको अभावमा व्यवसायीहरूले पुनः सडकपेटी ओगट्ने प्रवृत्ति दोहोर्‍याएका थिए । यस पटक भने महानगरले थप कडाइ गर्दै अटेर गर्ने व्यवसायीको सामान जफत गर्ने सम्मको चेतावनी दिएको छ ।

महानगरको यस कदमलाई आम नगरवासीले स्वागत गरेका छन् । पैदलयात्रीले सडकपेटी खुला हुँदा दुर्घटनाको जोखिम कम हुने र सहर सफा देखिने प्रतिक्रिया दिएका छन् । अर्कोतर्फ, स्वरोजगारमा रहेका साना व्यवसायीले भने आफ्नो जीविकोपार्जनमा समस्या पर्न सक्ने भन्दै उचित विकल्प र व्यवस्थापनको माग समेत गरेका छन् ।

सहरी व्यवस्थापन र नागरिकको सहजतालाई सन्तुलनमा राख्दै महानगरले शान्तिपूर्ण वातावरण निर्माण गर्दै फुटपाथ खुलाउने काम अगाडि बढाइरहेको छ ।