• ११ वैशाख २०८३, शुक्रबार

प्राङ्गारिक मल र बीउबिजन व्यवस्थापनमा सरकारको जोड

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

blog

कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरी ।

काठमाडौँ, वैशाख ११ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले वर्षायामको खेतीका लागि मलको पर्याप्त भण्डारण रहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले सरकारले रासायनिक मलको आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै भन्नुभयो, “अहिलेको रोपााइँसम्मका लागि हामीसँग मल उपलब्ध छ, रोपााइँपछिका लागि पनि मल जोहो गर्ने प्रयासमा हामी लागिरहेका छौँ ।” उहाँले रासायनिक मलको विकल्पका रूपमा माटोको स्वास्थ्य सुधार्न सरकारले जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको समेत बताउनुभयो ।

सरकारले ल्याएको ‘सय बुँदे सुदृढीकरण’ योजनामा पनि मल र माटो सुधारका विषयहरू समेटिएको जानकारी दिँदै मन्त्री चौधरीले ‘सोयल हेल्थ कार्ड’ मार्फत माटोको गुणस्तर सुधार गर्ने योजना अघि सारिएको उल्लेख गर्नुभयो ।

किसानलाई प्रदान गरिने अनुदान र बीउबिजन व्यवस्थापनका सम्बन्धमा सरकारले सूक्ष्म अध्ययन गरिरहेको उहाँको भनाइ छ । विगतका कमीकमजोरीलाई सुधार गर्दै वास्तविक किसानसम्म अनुदान पुऱ्याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले स्पष्ट पार्नुभयो । उहाँले उन्नत स्तरको बीउबिजनको सहज आपूर्तिका लागिसमेत मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।