प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ११ गते । दार्मा गाउँपालिका–४ अन्तर्गत पर्ने रातीखोलाको बस्ती क्षेत्रमा जङ्गली बाघ देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।
बाघले हालसम्म पाँच वटा बाख्रा खाइसकेको जनाइएको छ।दार्मा गाउँपालिकाको कार्यालयका अनुसार बाघको उपस्थितिले मानिस तथा सम्पत्तिको सुरक्षामा जोखिम बढेको भन्दै तत्काल आवश्यक पहल गर्न डिभिजन वन कार्यालय, सल्यानलाई पत्राचार गरिएको छ।
गाउँपालिकाले बाघको निगरानी, नियन्त्रण तथा व्यवस्थापनका लागि छिटो कदम चाल्न आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष निमबहादुर केसीले स्थानीयको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो ।
उहाँका अनुसार आवश्यक प्राविधिक सहयोगका लागि गाउँपालिका सधैँ तयार रहेको छ । स्थानीय बासिन्दाले साँझपख बाहिर ननिस्कन, पशुचौपायालाई सुरक्षित स्थानमा राख्न र सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बाघको गतिविधि बढ्दै गएपछि थप जोखिम हुन सक्ने भन्दै तत्काल नियन्त्रणको माग गरिएको छ।
