काठमाडौँ, वैशाख ११ गते । भौगोलिक तथा पर्यावरणीय विशिष्टता, रणनीतिक, व्यावहारिक तालिम तथा अध्ययनका लागि शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज पछिल्लो समय विकसित तथा सुविधासम्पन्न विदेशी मुलुकका सैनिक अधिकृतहरूको रोजाइको केन्द्र बन्दै गएको छ ।
कलेजमा हाल सञ्चालन भइरहेको सिसं ३३ कमान्ड तथा स्टाफ तालिममा नेपालसहित भारत, चीन, अमेरिका, बेलायत जस्ता विकसित तथा शक्तिराष्ट्र एवं बङ्गलादेश, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तान गरी १० विदेशी मुलुकका सैनिक अधिकृतसहित ९२ जनाको सहभागिता छ ।
तालिममा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रणनीति, सुरक्षा तथा सैन्य मामिला, सुरक्षा नीति, रक्षा अध्ययन, कानुन तथा सुरक्षा, कूटनीति, विदेश मामिला तथा सार्वजनिक प्रशासनबारे तालिम तथा प्रशिक्षण प्रदान गरिन्छ । त्यस्तै समकालीन सुरक्षा मामिला, सशस्त्र द्वन्द्व, योजना तथा अनुसन्धान, युद्ध, लडाइँ, शक्ति योजना र व्यवस्थापनसँगै विविध युद्ध खेल र अभ्यास हुने गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त कलेजमा हालसम्म विभिन्न विदेशी मुलुकका तीन हजारभन्दा बढी सैनिक अधिकृतले अध्ययन तथा तालिमप्राप्त गरिसकेका छन् । कलेजमा पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने सैन्य तालिमसँगै स्टाफ कलेज कोर्सका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
रक्षा मन्त्रालयको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित तालिममा सहभागी राष्ट्रका सैनिकबिच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय क्षेत्रीय एवं आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित योजना र त्यसको कार्यान्वयनबारे प्रशिक्षण प्रदान गरिन्छ । तालिमले उच्च तथा मध्यम तहका अधिकृतको नेतृत्व विकास, योजना निर्माण र रणनीतिक सोच विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सो कलेजका पूर्वविद्यार्थी एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर सैन्य तालिम र अध्ययनका लागि नेपाल विदेशी सैनिकको आकर्षण बन्नु गर्वको विषय रहेको बताउनुहुन्छ । कलेजमार्फत प्रदान गरिने विशिष्टीकृत र व्यावसायिक तालिम नै आकर्षणको प्रमुख आधार रहेको बताउँदै उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घमार्फत शान्तिसेनामा नेपालको उपस्थिति पहिलो स्थानमा छ । नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकमा प्रदर्शन गरेको भूमिका, दक्षता र उत्कृष्ट कार्यसम्पादन सिक्न र व्यावसायिक दक्षता बढाउने उद्देश्यले विदेशी सैनिक सो कलेजमा आकर्षित छन् ।”
विसं २०४९ मा स्थापना भएको कलेजले हालसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका साथै विभिन्न मित्रराष्ट्रका गरी हालसम्म करिब १३ हजार सैनिक स्टाफ कलेज कोर्स र सैन्य तालिम लिएका छन् । यसमध्ये करिब १० हजार नेपाली र तीन हजार विदेशी सहभागी रहेको नेपाली सेनाले जनाएको छ । विशेष गरी जङ्गल युद्धकला, हिमाली युद्धकला, विपत् व्यवस्थापन तथा आधुनिक सुरक्षा चुनौती सामना गर्ने रणनीतिक प्रशिक्षणका कारण कलेजले अन्तर्राष्ट्रियस्तरमा आफ्नो अलग पहिचान बनाएको छ । कलेजले प्रदान गर्ने विभिन्न तालिम तथा स्टाफ कोर्समा हालसम्म ३० विदेशी राष्ट्रका सैनिकको सहभागिता भइसकेको छ । यसले नेपालको सैन्य प्रशिक्षण प्रणालीप्रति अन्तर्राष्ट्रिय विश्वास बढिरहेको देखाउँछ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत नेपाली सेना र मित्रराष्ट्र देशका सैनिकबिच समन्वय, सहकार्य र अनुभव आदानप्रदान हुने बताउनुहुन्छ । भौगोलिक तथा प्रतिविद्रोह तालिममा नेपाली सेनाको विशिष्टीकृत अनुभवबाट सिक्ने उद्देश्यले विदेशी सैनिक तालिममा सहभागी हुने गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “विभिन्न देशमा हुने सैन्य तालिममा नेपाली सेनाको उत्कृष्ट प्रदर्शन र शान्तिसेनामा बलियो तथा विश्वासिलो उपस्थितिले पनि यसको आकर्षण बढेको हो ।”
उहाँले तालिममा प्रदान गरिने रणनीतिक तालिम र बहुराष्ट्रिय सहभागिताले अनुभव आदानप्रदान, सुरक्षा चुनौतीको साझा विश्लेषण तथा सहकार्यको सम्भावनालाई थप विस्तार गर्न महìवपूर्ण योगदान पुग्ने बताउनुभयो । तालिममा सहभागी अधिकृतले तालिम अवधिभर प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा रूपान्तरण गर्दै भविष्यमा प्रभावकारी नेतृत्व प्रदान गर्न सक्ने गरी कलेजलाई आधुनिक, सक्षम र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी सैन्य नेतृत्व उत्पादन गर्ने केन्द्रका रूपमा स्थापित गरिएको छ । शिवपुरी सैनिक कमान्ड तथा स्टाफ कलेज नेपाली सेनाको व्यावसायिकता, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय प्रशिक्षणको सशक्त प्रतीक बनेको छ ।