• २१ चैत २०८२, शनिबार

लागुऔषधको कुलतमा युवा

blog

काठमाडौँ, चैत २१ गते । काठमाडौँको सामाखुसीकी निर्मला (नाम परिवर्तन) का २० वर्षीय छोरा आयुष लागुऔषधको कुलतमा पसेको झन्डै पाँच वर्ष भयो । परिवारले आयुषलाई कुलत छुटाउन गरेका अनेक प्रयास सार्थक हुन सकेको छैन । लागुऔषधको कुलत थप बढ्दै जाँदा आयुष चोरी, डकैती, गुन्डागर्दीमा संलग्न भएपछि प्रहरीले पटक पटक पक्रिने, छाड्ने क्रम चल्दै आइरहेको छ । 

दाङकी सीता ठकुरीका २६ वर्षीय छोरा कमल १४ वर्षकै उमेरमा लागुऔषध कुलतमा मात्र फसेनन्, किशोर अवस्थामै नाबालिका बलात्कारमा संलग्नताको आरोप खेपेका उनी बालसुधार केन्द्रबाट छुटेपछि पुनः लागुऔषधको कुलतमा परे । कमलका कारण ठकुरी परिवारले आर्थिक सामाजिक रूपमा भोगेको समस्या अनगन्ती छन् ।        

काठमाडौँ महाराजगन्जका सन्देश लागुऔषधको कुलतमा परेपछि श्रीमतीसँग बिछोड भयो । एक छोरीका बाबु सन्देश लागुऔषधको लतमा झन् झन् फस्दै जाँदा दैनिक जसो वृद्ध आमालाई कुटपिट गर्न थालेपछि परिवारले सुधार केन्द्रमा राखिदिएको छ । 

यसरी पछिल्लो समय युवा पुस्तामा लागुऔषधको प्रयोग सहरदेखि गाउँसम्म फैलिन थालेको छ । यसको रोकथामका लागि बेलैमा प्रभावकारी कदम नचाल्ने हो भने अवस्था भयावह हुने भन्दै सरोकारवालाहरू चिन्ता व्यक्त गर्न थालेका छन् । लागुऔषध प्रयोगकर्ताको पुनस्र्थापनामा लामो समयदेखि सक्रिय रहँदै आएको नार्कोनन नेपालका प्रमुख वसन्त कुँवरले लागुऔषधको कुलतमा फस्नेमध्ये सबैभन्दा बढी १५ वर्षका किशोरदेखि २५ वर्ष युवा हुनु चिन्ताको विषय रहेको बताउनुहुन्छ ।  

लागुऔषध कुलतले परिवार, समाज हुँदै मुलुकलाई नै आक्रान्त पार्न सक्ने अवस्था आउनेतर्फ बेलैमा सचेत हुनुपर्ने बताउँदै कुँवर भन्नुहुन्छ, “हाम्रो सर्वेक्षणले नेपालमा झन्डै १० देखि ११ लाख लागुऔषध प्रयोगकर्ता रहेको देखाउँछ । यो भनेको प्रत्येक पाँच घरमा एक जना दुव्र्यसनी हुनु हो ।” उहाँले ८ देखि १२ कक्षासम्मका किशोरलाई कारोबारीले विभिन्न प्रलोभनमा पारी कुलतमा पार्ने गरेको पाइएको बताउँदै विद्यालयको पाठ्यक्रममै लागुऔषधबारे अध्ययन र टोल समाजमा प्रभावकारी जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभयो । 

लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग झन्डै १० प्रतिशत वृद्धि भएको छ । सुरक्षा निकायको अनौपचारिक सर्वेक्षणमा अवस्था योभन्दा कैयौँ गुणा बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल ड्रग्स बरामद भएको थियो ।

गत आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न अभियोगमा पक्राउ परेका  करिब आठ हजार जना छन् । पक्राउ परेकाहरूको साथबाट करिब ५० लाख थानभन्दा बढी फर्मास्युटिकल ड्रग्स बरामद भएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या एक लाख ३४ हजार छ ।  

यो सङ्ख्या पक्राउ परेका र पुनस्र्थापना केन्द्रमा पुगेका व्यक्तिको मात्र रहेकाले यसभन्दा कैयौँ बढी (झन्डै ११ लाखभन्दा बढी) लागुऔषध प्रयोगकर्ता रहेको दाबी गरिएको छ । 

मुलुकको समुन्नति, विकास र समाज रूपान्तरणका संवाहक युवा नै लागुऔषधको दुव्र्यसनको सिकार हुँदा यसले राष्ट्रलाई नै पार्ने असर नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आइरहेको भए पनि रोकथाम हुन सकेको छैन । लागुऔषधको कारोबार र ओसारपसारमा सङ्गठित विभिन्न गिरोहमार्फत हुने भएकाले आवश्यक सुरक्षा रणनीति बनाउँदै नियन्त्रणका लागि आवश्यक स्रोतसाधन बढाउनुपर्ने देखिएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्णप्रसाद कोइरालाले लागुऔषधको प्रयोग, कारोबार र ओसारपसार नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँका अनुसार खुला सिमानाबाट विभिन्न माध्यम हुँदै लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको छ । कोइराला भन्नुहुन्छ, “लागुऔषध नियन्त्रणका लागि 

अन्तरदेशीय समन्वय र सहकार्य अत्यन्तै जरुरी देखिएको छ । यसका साथै ब्युरोको जनशक्ति र स्रोतसाधन बढाएर प्रभावकारी परिचालन गर्न सकियो भने अहिलेको अवस्थालाई धेरै सुधार गर्न सकिन्छ ।”

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक हेमन्त मल्ल नेपालमा वार्षिक रूपमा आठदेखि १० प्रतिशत दुव्यर्सनी बढ्दै जानुलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुहुन्छ ।  लागुऔषधको उत्पादन, ओसारपसार माग र उपचार तथा पुनस्र्थापना प्रभावकारी हुनुपर्ने बताउँदै मल्ल भन्नुहुन्छ, “लागुऔषध कारोबार र ओसारपसार नियन्त्रणका लागि अहिले भइरहेको प्रयास पर्याप्त छैन, यसतर्फ राज्यको ध्यान पुग्नु अति जरुरी छ ।”