रुपन्देही, चैत २३ गते । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आमनिर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेको बताउनुभएको छ ।
रुपन्देहीको योगीकुटीस्थित मध्यपश्चिम पृतना कार्यालयमा आइतबार आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति सिग्देलले नेपाली सेनाले इतिहासदेखि नै अराजनीतिक चरित्रलाई कायम राख्दै आएको बताउनुभयो । अनुशासन, नेतृत्वको पालना तथा राष्ट्रिय एकताको भावनालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा नेपाली सेना अविच्छिन्न केन्द्रित रहने उहाँको भनाइ छ ।
सम्बोधनका क्रममा सेनापति सिग्देलले भन्नुभयो, “हाम्रा वीरपुर्खाले पु¥याएको त्याग, तपस्या बलिदान तथा कर्तव्यपरायणतालाई अटल राख्दै राष्ट्रभक्तिको जीवन्त र गर्विलो इतिहास कायम राख्न नेपाली सेना सदैव तटस्थ र अराजनीतिक भूमिका निर्वाह गर्दै आएको जगजाहेर नै छ ।”
उहाँले मुलुकको सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकासनिर्माण, विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाले नेपाली सेना स्वदेश तथा विदेशमा समेत विश्वसनीय तथा सम्मानित संस्थाका रूपमा स्थापित भएको बताउनुभयो ।
उहाँले फागुन २१ मा सम्पन्न आमनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न बहालवाला तथा अवकाशप्राप्त सैनिकले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताको सर्वत्र प्रशंसा हुनु सिङ्गो सङ्गठनका लागि गर्वको विषय भएको बताउनुभयो ।
नेपाली सेनाले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखिको परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौती सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा आफूलाई स्थापित गरी भाबी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
सैनिक कल्याणकारी कोष निर्देशनालयद्वारा आयोजित सम्मेलनमा सेनापति सिग्देलले बहालवाला र अवकाशप्राप्त सैनिकलाई एउटै छाताभित्र ल्याउने उद्देश्यले सैनिक कल्याणकारी कार्यक्रम हरेक स्थानीय तह र वडासम्म पु¥याउने गरी तीव्र रूपमा गृहकार्य भइरहेको बताउनुभयो ।
सैनिक कल्याणकारी कोष निर्देशनालयका कार्यकारी अधिकृत हिरालाल जोशीले सामूहिक भावनालाई अभिवृद्धि गरी कल्याणकारी कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउने गरी गृहकार्य भइरहेको बताउनुभयो । सो अवसरमा कोषमार्फत उत्कृष्ट व्यवसाय सञ्चालन गरिरहेका सैनिक परिवारलाई पुरस्कार तथा सम्मान गर्दै वृद्ध, अशक्तलाई ह्विलचेयर वितरण गरिएको थियो ।
प्रधान सेनापति र अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारबिच पुनर्मिलन गर्ने उद्देश्यले विसं २०७० देखि सुरु भएको भूपू सैनिक सम्मेलन यस वर्ष ‘प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नाराका तीन वटा पृतना मातहतका ३४ जिल्लामा आयोजना गरिएको छ ।
पहिलो चरणमा मध्यपश्चिम पृतना अन्तर्गत रूपन्देही, दाङ, प्युठान, रोल्पा, पूर्वरुकुम, पश्चिम रुकुम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, नवलपरासीपूर्व जिल्लामा बसोबास करिब छ हजार चार सय भूपू सैनिकको सहभागिता थियो ।
त्यस्तै गरी दोस्रो चरणमा पश्चिम पृतना अन्तर्गत कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बागलुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँका जिल्लामा भूपू सैनिकको सम्मेलन तनहुँको खैरेनीटारमा चैत २५ गते हुने छ ।
तेस्रो चरणमा मध्यपूर्वी पृतना अन्तर्गत सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा बसोबास गर्ने सैनिकको सम्मेलन बर्दीबासमा आगामी वैशाख ४ गते हुने छ । तीन वटा छुट्टाछट्टै भूपू सैनिक सम्मेलनमा झन्डै ९० हजार अवकाशप्राप्त तथा आश्रित परिवारबिच पुनर्मिलन गरिने जङ्गी अड्डाले जनाएको छ ।