• १५ चैत २०८२, आइतबार

ओली र लेखकलाई आज अदालत लगिँदै

blog

शनिबार बिहान पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा । इनसेटमा पूर्वगृहमन्त्री रमेश लेखक । तस्बिर : कविन अधिकारी

काठमाडौँ, चैत १५ गते । पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई शनिबार काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।   

गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भए भने आक्रोशित प्रदर्शनकारीले राज्यका महत्वपूर्ण संरचना, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सुरक्षा निकाय तथा सरकारी भवनहरू र व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड एवं लुटपाट गरी अर्बौंको क्षति पुर्‍याएका थिए । 

उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठह¥याउँदै कारबाही सिफारिस गरेको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो । 

मन्त्रीपरिषद् बैठकलगत्तै शनिबार नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रमुख (आइजिपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित गृह प्रशासनका अधिकारीहरूसँग आवश्यक छलफल गर्नुभएको थियो । ओली र लेखकलाई पक्राउ गर्नुअघि दुवै प्रहरी सङ्गठनले उच्च सुरक्षा सतर्कता अपनाउँदै मातहतका निकायलाई तयारी अवस्थामा रहन सर्कुलर जारी गरेका थिए । विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा सतर्कता अपनाइएको थियो । 

लेखकलाई पक्राउ गर्नुअघि लेखक निवास भक्तपुर सूर्यविनायक–५, कटुन्जे र ओली निवास गुण्डु क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । लेखकलाई प्रहरीले बिहान ५:४० बजेको समयमा पक्राउ ग¥यो । त्यसलगत्तै ठुलो सङ्ख्यामा प्रहरी ओली निवास पुग्यो । प्रहरी टोली ओली निवास पुग्दा गेट बन्द गरी प्रहरीलाई घरभित्र पस्न अवरोध गरियो । पछि दुवै पक्षको धकेलाधकेलमा गेट खुल्यो र प्रहरी ओली बसेको कोठामै पुग्यो । 

जरुरी पक्राउ पुर्जी लिएर पुगेको प्रहरी टोली देखेपछि ओलीले आफूमाथि राज्यले प्रतिशोध लिन खोजेको बताउँदै औषधीलगायत अत्यावश्यक सामान साथमा राखेर आफ्नै गाडीबाट प्रहरी परिसर काठमाडौँ आइपुग्नुभएको प्रहरीले जनाएको छ । घरबाट निस्कनुअघि ओलीलाई पत्नी राधिका शाक्यले अँगालो मारेर बिदाइ गर्नुभएको थियो ।  

ओली र लेखकलाई आवश्यक स्वास्थ्य परीक्षणपछि नेपाल प्रहरीको महाराजगन्जस्थित दुई नम्बर गणमा राख्ने तयारी भइरहेको छ । ओली र लेखकलाई पक्राउ गरिएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमा जेनजी सहिदलाई श्रद्धाञ्जली लेख्नुभएको छ, “प्रतिज्ञा भनेको प्रतिज्ञा नै हो, कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।” उहाँले यससँगै अब देशले नयाँ दिशा लिने छ भन्ने विश्वास गरेको जनाउनुभएको छ । 

कार्की आयोगले ओली र लेखकमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र दफा १८२ अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन सिफारिस गरेको छ । दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र १८२ हेलचेक््रयाइँ गरी ज्यान मार्न नहुने कसुर उल्लेख छ । लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना हुने प्रावधान छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा ज्यानसम्बन्धी कसुरमा प्रहरीले अदालतको अनुमतिमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनबमोजिम जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले  पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि अनुसन्धान गर्नुपर्ने भएकाले आइतबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराइने बताउनुभयो । प्रहरी नियन्त्रणमा रहनुभएका ओलीलाई हाल चिकित्सकको सल्लाहबमोजिम त्रिवि शिक्षण अस्पाताल र पूर्वगृहमन्त्री लेखकलाई दुई नम्बर गणमा राखिएको बताउँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “दुवै जनाको मानव अधिकारको पूर्ण प्रत्याभूति एवं सम्मानसहित हामीले अनुसन्धान सुरु गरेका छौँ ।”

तत्काल रिहा गर्न एमालेको माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । एमाले मुख्यालय च्यासलमा शनिबार बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले दुवै नेतालाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको हो । 

एमाले महासचिव शङ्कर पोखरेलले दुवै नेता पक्राउको निन्दा गर्दै लोकतन्त्र र कानुनी शासनको विपरीत पक्राउ गरिएको जनाउनुभएको छ । एमाले बैठकले जेनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरेको छ ।

बैठकले पक्राउप्रति आपत्ति जनाउँदै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीले गिरफ्तारीलाई नियोजित र निर्देशित कारबाहीको संज्ञा दिँदै रिहाइका लागि राजनीतिक दल, नागरिक समाज र आमनागरिकसँग संयुक्त पहलको आह्वान गरेको छ । संविधान, लोकतन्त्र र मानव अधिकारको संरक्षणका लागि आवश्यक कदम चालिने एमालेले जनाएको छ । 

चैत १५ गते आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको पनि एमालेले जनाएको छ । आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग समन्वय गरेर थप कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ । शनिबार एमालेले काठमाडौँलगायत देशभरका प्रमुख सहर र जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ । केही स्थानमा सडकमै टायर बालेर एमालेले विरोध जनाएको थियो । त्यस क्रममा शनिबार काठमाडौँको माइतीघर आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । 

पूर्वराष्ट्रपतिको असहमति 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता लेखकको गिरफ्तारीविरुद्धमा उभिनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले “लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ” भन्नुभएको छ ।